नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आगामी १० वर्षलाई ‘एमएसएमई विकास दशक’ घोषणा गर्न सरकारसँग माग गरेको छ ।
महासंघको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी लघु, घरेलु तथा साना उद्योगको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको भन्दै विभिन्न सुझाव प्रस्तुत गरेको हो ।
महासंघले साना उद्यमीलाई सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने, नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने र सार्वजनिक खरिदमा स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ । सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने महासंघको प्रस्ताव छ ।
त्यस्तै, स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्नुपर्ने, निर्यात सहजीकरणका लागि आवश्यक नीति तथा पूर्वाधार विकास गर्नुपर्ने र उद्योगमा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।
महिला उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी विशेष उद्यमशीलता प्याकेज ल्याउनुपर्ने सुझाव पनि महासंघले दिएको छ । यसैगरी नयाँ व्यवसाय तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
उद्योग दर्ता, अनुमति तथा अन्य सरकारी सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउन ‘फास्ट ट्र्याक इन्डस्ट्रियल सर्भिस’ लागू गर्नुपर्ने मागसमेत महासंघले गरेको छ ।
भेटमा कार्यवाहक प्रधानमन्त्री वाग्लेले एमएसएमई क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएको महासंघले जनाएको छ ।
सोही अवसरमा महासंघकी अध्यक्ष शोभा गुरुङले बाढी प्रभावित परिवारको राहतका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई हस्तान्तरण गरिन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ । प्रभावित परिवारका लागि आवश्यक राहत सामग्रीसमेत संकलन भइरहेको र छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने महासंघको भनाइ छ ।

