चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको हो ।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.६४ प्रतिशत बढी हो । गत वर्षको पहिलो दुई महिनामा नेपालले ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिमा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ । विभागका अनुसार पहिलो दुई महिनामा नेपालले ४ खर्ब १ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब ५ अर्ब रुपैयाँको आयात भएको थियो । यस आधारमा आयात ३१.५८ प्रतिशतले बढेको हो ।
निर्याततर्फ भने अझ उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालबाट ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएको विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यात ६१.८६ प्रतिशतले बढेको हो ।
निर्यातमा भएको तीव्र वृद्धिले नेपालको कुल वैदेशिक व्यापारमा यसको हिस्सा समेत बढाएको छ । गत वर्ष पहिलो दुई महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर १६.०२ प्रतिशत पुगेको छ । यता आयातको हिस्सा भने ८६.५८ प्रतिशतबाट घटेर ८३.९८ प्रतिशतमा झरेको छ ।
आयातको तुलनामा निर्यात अझै निकै कम रहेकाले व्यापार घाटा भने बढेको छ । समीक्षा अवधिमा नेपालको व्यापार घाटा २६.०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ थियो ।
यद्यपि, निर्यातको वृद्धिदर आयातभन्दा उच्च भएकाले आयात–निर्यात अनुपातमा सुधार आएको छ । गत वर्ष नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ४५ पैसा बराबरको आयात गर्ने गरेको थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा यस्तो अनुपात घटेर ५ रुपैयाँ २४ पैसामा आएको छ ।
यसले नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा विस्तार हुँदै गएको देखाए पनि आयातमा रहेको उच्च निर्भरता र त्यसबाट सिर्जित व्यापार घाटा अझै ठूलो रहेको तथ्यांकले देखाएको छ ।

