चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको कर्जा लगानीमा उल्लेख्य वृद्धि भएको छ । असार मसान्तदेखि भदौ मसान्तसम्म बैंकहरूले कुल ६० अर्ब ९७ करोड रुपैयाँ थप कर्जा लगानी गरेका छन् ।
असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यसले पछिल्लो समय बैंकिङ प्रणालीमा कर्जाको माग बढ्दै गएको देखाएको छ ।
आर्थिक वर्षको पहिलो महिना साउनमा भने कर्जा विस्तारमा केही संकुचन देखिएको थियो । साउन मसान्तसम्म बैंकहरूको कुल कर्जा ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँमा झरेको थियो । अर्थात् असारको तुलनामा साउनमा कर्जा लगानी १ अर्ब ७१ करोड रुपैयाँले घटेको थियो ।
तर, भदौमा कर्जाको मागमा उल्लेख्य सुधार आएको छ । भदौ महिनामा मात्रै वाणिज्य बैंकहरूले ६२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा विस्तार गरेका छन् । यसले गर्दा दुई महिनाको समग्र कर्जा विस्तार सकारात्मक बनेको हो ।
बैंकरहरूका अनुसार चाडपर्व नजिकिँदै जाँदा बजारमा आर्थिक गतिविधि बढ्नु, नयाँ सवारी साधन तथा उपभोग्य वस्तुको आयात र व्यापारिक कारोबारमा आएको सुधारले कर्जाको माग बढाएको हो । साथै, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले बैंकहरूले आधार दरसँगै कर्जाको ब्याजदर घटाउँदै लगेका छन् । तुलनात्मक रूपमा सस्तो ब्याजदर र बजारमा बढेको व्यावसायिक गतिविधिले आगामी महिनामा पनि कर्जा विस्तारलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
ग्लोबल आइएमईको कर्जा सबैभन्दा धेरै बढ्यो
दुई महिनाको अवधिमा सबैभन्दा धेरै कर्जा विस्तार गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले असारदेखि भदौसम्म २० अर्ब १ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ ।
त्यस्तै, एभरेष्ट बैंकले १२ अर्ब ८८ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । कुमारी बैंकले ७ अर्ब ६५ करोड, नबिल बैंकले ७ अर्ब ६ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकले ४ अर्ब ७४ करोड र एनएमबि बैंकले ४ अर्ब २९ करोड रुपैयाँले कर्जा लगानी बढाएका छन् ।
कुल कर्जा लगानीको आकारमा भने ग्लोबल आइएमई बैंक र नबिल बैंकबीच प्रतिस्पर्धा देखिएको छ । भदौ मसान्तसम्म ग्लोबल आइएमई बैंकको कुल कर्जा ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकको कुल कर्जा ४ खर्ब ९५ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल कर्जा ३ खर्ब ५९ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ खर्ब ४९ अर्ब ७१ करोड र लक्ष्मी सनराइज बैंकको ३ खर्ब ३० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
सात बैंकको कर्जा घट्यो
समग्र बैंकिङ क्षेत्रमा कर्जा विस्तार भए पनि समीक्षा अवधिमा सातवटा बैंकको कर्जा लगानी भने घटेको छ । सबैभन्दा ठूलो संकुचन एनआईसी एशिया बैंकमा देखिएको छ । बैंकको कर्जा लगानी दुई महिनामा ६ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।
सानिमा बैंकको कर्जा ३ अर्ब ४६ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँले घटेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानीमा पनि सामान्य गिरावट आएको छ ।
यसरी बैंकिङ प्रणालीमा तरलता सहज रहनु, ब्याजदर घट्नु र चाडपर्वसँगै आर्थिक गतिविधि बढ्नुले कर्जाको मागमा सुधार ल्याएको देखिन्छ । आगामी महिनामा निजी क्षेत्रको व्यावसायिक गतिविधि र लगानी विस्तारले कर्जा वृद्धिको गति थप बढाउने अपेक्षा गरिएको छ ।

