Banijya News

हिमालय एयरलाइन्सद्वारा काठमाडौं–सांघाई सीधा उडान पुनः सुरु हुने

1
1.0K Shares

हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सीधा उडान पुनः सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित सीधा उडान सुरु गर्ने घोषणा गरेको हो ।

उडान पुनः सुरु भएसँगै हिमालय एयरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सीधा उडान सञ्चालन गर्ने वायुसेवा कम्पनी बन्नेछ । यसले नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगर तथा वित्तीय केन्द्र सांघाईबीच प्रत्यक्ष हवाई सम्पर्क पुनःस्थापित गर्ने कम्पनीले जनाएको छ ।

नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुँदै गर्दा सांघाई उडान पुनः सञ्चालन हुनुलाई पर्यटन क्षेत्रका लागि समेत महत्वपूर्ण मानिएको छ । चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा होटल, ट्राभल, टुर, यातायातलगायत आतिथ्य क्षेत्रको गतिविधि विस्तार गर्न यो रुट उपयोगी हुने कम्पनीको अपेक्षा छ ।

काठमाडौं–सांघाई सीधा उडानले नेपाली तथा चिनियाँ यात्रुलाई दुई शहरबीच सहज, सुरक्षित र छिटो यात्रा सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार नयाँ उडानले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, पर्यटन, व्यापार तथा जनस्तरको सम्पर्क विस्तारमा समेत योगदान पुर्‍याउनेछ ।

हिमालय एयरलाइन्सले प्रारम्भिक चरणमा यो रुटमा सातामा दुई उडान सञ्चालन गर्नेछ । काठमाडौं–सांघाई उडान हरेक सोमबार र शुक्रबार हुनेछ भने सांघाई–काठमाडौं फर्कने उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ । कम्पनीले यात्रुको माग र उडानको ‘लोड फ्याक्टर’का आधारमा आगामी दिनमा उडान संख्या थप गर्न सकिने जनाएको छ ।

काठमाडौंबाट सांघाई जाने उडान सेप्टेम्बर २८ देखि अक्टोबर २३ सम्म सोमबार र शुक्रबार सञ्चालन हुनेछ । उडान काठमाडौंको स्थानीय समयअनुसार साँझ ६ः२५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ ।

त्यस्तै, सांघाईबाट काठमाडौं फर्कने उडान सेप्टेम्बर २९ देखि अक्टोबर २४ सम्म मंगलबार र शनिबार सञ्चालन हुनेछ । विमान सांघाईबाट बिहान ३ बजे उडेर काठमाडौंमा बिहान ७ः१० बजे अवतरण गर्ने बताइएको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, काठमाडौं–सांघाई रुटमा नियमित उडान पुनः सञ्चालन हुनु नेपाल र चीनबीचको सम्पर्क विस्तारका लागि महत्वपूर्ण हुनेछ । यो रुटमा नियमित उडानले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउनुका साथै दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

1

Scroll to Top