Banijya News

दुई महिनामै १० अर्बको मोबाइल आयात, स्मार्टफोनको हिस्सा साढे ९६ प्रतिशत

1
1.0K Shares

नेपालमा मोबाइल फोनको आयात उच्च दरमा हुने गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १० अर्ब ८ करोड १५ लाख रुपैयाँ बराबरका ८ लाख ६ हजार ६० थान मोबाइल फोन आयात भएका छन् ।

भन्सार विभागको सञ्चित वैदेशिक व्यापार तथ्यांकअनुसार, चालु आवको साउन र भदौमा मात्रै मोबाइल तथा सेलुलर फोनसँग सम्बन्धित दुई शीर्षकबाट उक्त परिमाणमा मोबाइल सेट नेपाल भित्रिएका हुन् । दुई महिनामा भएको मोबाइल आयातबाट राज्यले कर तथा भन्सार राजस्वबापत १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ ।

आयात भएका मोबाइलमध्ये रकमका आधारमा स्मार्टफोनको हिस्सा अत्यधिक रहेको छ । साउन र भदौमा ४ लाख २५ हजार ४० थान स्मार्टफोन आयात भएका छन् । ती स्मार्टफोनको आयात मूल्य मात्रै ९ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ रहेको छ । यो कुल मोबाइल आयात मूल्यको करिब ९६.६ प्रतिशत हो । स्मार्टफोन आयातबाट मात्रै सरकारले १ अर्ब ८१ करोड ७७ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

संख्याका आधारमा भने साधारण फिचर फोन तथा अन्य सेलुलर र वायरलेस फोनको हिस्सा पनि उल्लेख्य देखिएको छ । दुई महिनामा यस्ता ३ लाख ८१ हजार २० थान फोन आयात भएका छन् । यो कुल मोबाइल आयातको करिब ४७ प्रतिशत हो। तर, तिनको आयात मूल्य ३३ करोड ७८ लाख रुपैयाँ मात्रै रहेको छ । यस्ता फोनबाट सरकारले ६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

डिजिटल भुक्तानी, अनलाइन शिक्षा, सामाजिक सञ्जाल तथा इन्टरनेट सेवाको विस्तारसँगै स्मार्टफोनको माग बढिरहेको व्यवसायीहरूको भनाइ छ । आधुनिक फिचर, क्यामेरा, उच्च क्षमताका प्रोसेसर तथा विभिन्न डिजिटल सेवाको प्रयोग बढ्दै जाँदा उपभोक्ताको रोजाइ स्मार्टफोनतर्फ केन्द्रित भएको देखिन्छ ।

विशेषगरी, दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वअघि मोबाइल व्यवसायीहरूले बजारको माग धान्न ठूलो परिमाणमा फोन मौज्दात राख्ने गर्छन् । चाडपर्वमा नयाँ ग्याजेट खरिद गर्ने प्रवृत्ति तथा विभिन्न ब्रान्डले सार्वजनिक गर्ने छुट र अफरले पनि आयात बढाउन योगदान गर्ने व्यवसायीहरू बताउँछन् ।

यसरी पहिलो दुई महिनाको तथ्यांकले नेपालमा मोबाइल बजार सक्रिय रहेको र आयातको मूल्यमा स्मार्टफोनको स्पष्ट वर्चस्व रहेको देखाएको छ ।

1

Scroll to Top