काठमाडौंमा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सार्वजनिक गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममा उक्त कर्जा सुविधा सार्वजनिक गरिएको हो ।
नयाँ सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी झन्झट तथा बैंकसम्म भौतिक रूपमा पुग्नुपर्ने बाध्यतालाई कम गर्दै डिजिटल माध्यमबाट वित्तीय पहुँच सहज बनाउने उद्देश्य राखेको छ । योग्य व्यक्तिले इसेवा एपमार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
‘स्वावलम्बन कर्जा’अन्तर्गत न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत तोकिएको छ ।
कर्जाका लागि इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने व्यक्ति योग्य हुनेछन् । कर्जा स्वीकृति भने बैंकको मूल्यांकन तथा लागू सर्तअनुसार हुने जनाइएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिमार्फत अपाङ्गता भएका व्यक्तिको वित्तीय पहुँच सहज बनाउन सुविधा ल्याइएको बताए ।
त्यस्तै, सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले औपचारिक कर्जामा पहुँच विस्तारका लागि सहकार्य गरिएको बताए ।
कार्यक्रममा कर्जा सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, सहभागीको अनुभव तथा ‘स्वावलम्बन कर्जा’सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

