मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच सहज कर्जा सुविधा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौतामा बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम ढकाल र अटोवेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले खरिद गरिने बुल मेसिनलाई नै धितोका रूपमा राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ ।
ग्राहकले बैंकलाई स्वीकार्य थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा भने बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस्तो कर्जा न्यूनतम ब्याजदरमा उपलब्ध हुन सक्ने बैंकले जनाएको छ ।
यस सहकार्यले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुका साथै निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक उपकरण खरिदका लागि वित्तीय पहुँच सहज बनाउने बैंकको अपेक्षा छ ।
मुक्तिनाथ विकास बैंकले आवास, सवारीसाधन, कृषि तथा साना तथा मझौला उद्यमलगायत क्षेत्रमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

