Banijya News

प्रतिकूल मौसमले रोकियो धवलागिरि आरोहण, पर्वतारोही सुरक्षित स्थानतर्फ फर्किए

1
1.0K Shares

प्रतिकूल मौसम र भारी वर्षाको सम्भावनाका कारण विश्वको सातौँ अग्लो धवलागिरि हिमाल आरोहण अभियान स्थगित गरिएको छ । धवलागिरि आधार शिविर पुगेका पर्वतारोहीहरू असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वानुमानपछि जोखिमबाट बच्न सुरक्षित स्थानतर्फ फर्किएका हुन् ।

आठ हजार १६७ मिटर अग्लो धवलागिरि आरोहणका लागि आधार शिविरमा पुगेका ३० जनाको टोली बिहीबार तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरतर्फ झरेको पर्यटनकर्मी इन्द्रसिङ शेरचनले जानकारी दिए । टोलीका केही पर्वतारोही भने हेलिकप्टरमार्फत पोखरा पुगेका छन् ।

‘एट के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत पर्वतारोहीहरू गत शनिबार धवलागिरि आधार शिविर पुगेका थिए । मौसममा सुधार आएमा करिब चार दिनपछि आरोहणलाई पुनः निरन्तरता दिने तयारी गरिएको छ ।

चालु शरदयाममा धवलागिरि आरोहणका लागि चार समूहका १० महिलासहित ३४ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन् । विभागका अनुसार उनीहरूबाट ७७ लाख ८२ हजार ४५० रुपैयाँ आरोहण शुल्क संकलन भएको छ ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई जोखिमयुक्त क्षेत्रमा राखेका छन्। पर्यटन विभागले समेत हिमाली क्षेत्रमा रहेका पर्वतारोही तथा पर्यटकलाई मौसमको अवस्था बुझेर सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरतर्फ गएका पर्यटकसमेत फर्किएका छन् । प्रतिकूल मौसमका कारण मौरिस हर्जोग पदमार्गमा बिहीबारदेखि पदयात्रा बन्द गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकूल नभएसम्म आधार शिविरतर्फ पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ ।

1

Scroll to Top