Banijya News

निर्माण क्षेत्रमा बैंकहरूको कर्जा विस्तार तीव्र, एक वर्षमै १७.५५ प्रतिशत वृद्धि

1
1.0K Shares

वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म २० वाणिज्य बैंकले निर्माण क्षेत्रमा कुल २ खर्ब ४१ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ५ अर्ब २९ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

एक वर्षको अवधिमा निर्माण क्षेत्रमा बैंकहरूको कर्जा लगानी ३६ अर्ब २ करोड ६६ लाख रुपैयाँले बढेको हो । यो वृद्धि १७.५५ प्रतिशत बराबर हो । निर्माण गतिविधिमा विस्तारसँगै बैंकिङ क्षेत्रबाट यस क्षेत्रमा जाने कर्जाको आकारसमेत बढ्दै गएको देखिएको छ ।

निर्माण क्षेत्रमा सबैभन्दा धेरै कर्जा लगानी गर्ने बैंक नबिल बैंक रहेको छ । साउन मसान्तसम्म बैंकले निर्माण क्षेत्रमा २७ अर्ब ६८ करोड २० लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नबिलको निर्माण क्षेत्रतर्फको कर्जा २४ अर्ब ६९ करोड ८२ लाख १० हजार रुपैयाँ थियो। यस अवधिमा बैंकको कर्जा २ अर्ब ९८ करोड ३८ लाख ६० हजार रुपैयाँ अर्थात् १२.८ प्रतिशतले बढेको छ ।

निर्माण क्षेत्रमा कर्जा लगानीका आधारमा लक्ष्मी सनराइज बैंक दोस्रो स्थानमा छ । बैंकले साउन मसान्तसम्म २६ अर्ब ७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २० अर्ब ५५ करोड ६८ लाख १० हजार रुपैयाँ थियो । एक वर्षमा बैंकको निर्माण क्षेत्रको कर्जा ५ अर्ब ५१ करोड ४५ लाख ४० हजार रुपैयाँले बढेको छ । यो २६.८३ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, सिटिजन्स बैंक तेस्रो स्थानमा रहेको छ । बैंकले निर्माण क्षेत्रमा २० अर्ब ७९ करोड ८९ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष १६ अर्ब २३ करोड १६ लाख १० हजार रुपैयाँ रहेको कर्जा एक वर्षमा ४ अर्ब ५६ करोड ७३ लाख ६० हजार रुपैयाँले बढेको हो । बैंकको कर्जा विस्तार दर २८.१४ प्रतिशत रहेको छ ।

एनआइसी एशिया बैंकको भने निर्माण क्षेत्रतर्फको कर्जा लगानी घटेको छ । साउन मसान्तसम्म बैंकले २० अर्ब १९ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २१ अर्ब ७२ करोड ३० लाख १० हजार रुपैयाँ थियो। यसअनुसार बैंकको निर्माण क्षेत्रको कर्जा १ अर्ब ५३ करोड ११ लाख १० हजार रुपैयाँ अर्थात् ७.५ प्रतिशतले घटेको छ ।

कृषि विकास बैंकले निर्माण क्षेत्रमा २० अर्ब ९ करोड ३५ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष १२ अर्ब ४१ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको यस्तो कर्जा एक वर्षमा ७ अर्ब ६७ करोड ५१ लाख रुपैयाँले बढेको हो । बैंकको कर्जा लगानी ६१.८ प्रतिशतले वृद्धि भएको छ । ठूला बैंकमध्ये प्रतिशतका आधारमा कृषि विकास बैंकको विस्तार उल्लेख्य देखिएको छ ।

निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा लगानी गर्ने बैंक नेपाल एसबिआई बैंक रहेको छ । बैंकको साउन मसान्तसम्म निर्माण क्षेत्रतर्फको कर्जा ९५ करोड ३१ लाख ५० हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ९२ करोड ६ लाख रुपैयाँ रहेकोमा यस वर्ष ३ करोड २५ लाख ५० हजार रुपैयाँ अर्थात् ३.५४ प्रतिशतले वृद्धि भएको हो ।

समग्रमा निर्माण क्षेत्रमा बैंकहरूको कर्जा विस्तारले यस क्षेत्रमा वित्तीय स्रोतको प्रवाह बढेको देखाउँछ । यद्यपि बैंकअनुसार कर्जा विस्तारको दरमा ठूलो अन्तर देखिएको छ । केही बैंकले तीव्र रूपमा कर्जा बढाएका छन् भने केहीको लगानी स्थिर वा घट्दो अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

1

Scroll to Top