Banijya News

बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो धक्का, १३०३ मेगावाटसम्म असर

1
1.0K Shares

अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण, वितरण तथा उत्पादन प्रणालीमा ठूलो असर पारेको छ । प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजनाको उत्पादन र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि पोखरा, बुटवल, हेटौंडा तथा काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विभिन्न स्थान र फरक–फरक समयमा देखिएका लाइन, उत्पादन तथा लोड अवरोधको कुल योग करिब १ हजार ३०३ मेगावाट पुगेको छ । मन्त्रालयले भने यो परिमाण एकै समयमा विद्युत् प्रणालीबाट बाहिरिएको विद्युत् नभएको स्पष्ट पारेको छ ।

बाढीपहिरोबाट सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रको विद्युत् प्रणालीमा परेको छ । कुश्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आउँदा करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ । त्यस्तै, रौघाट–दाना लाइन १ र २ मा आएको अवरोधका कारण करिब १५५ मेगावाट प्रभावित भएको विवरण छ ।

पोखरा क्षेत्रका कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्तिमा समेत असर परेको छ । पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा प्रभाव परेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

रौघाट क्षेत्रमा न्यू बुटवल–कुश्मा २२० केभी लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट विद्युत् प्रभावित भएको थियो। बुटवल क्षेत्रमा पनि न्यू भरतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो । उक्त लाइन बिहान ९ः५१ बजे पुनः चार्ज गरिएको थियो ।

यसैगरी, चापर–पथलैया १३२ केभी प्रसारण लाइन बन्द हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गर्नुपरेको थियो । कावासोती सबस्टेसनमा बिहान ८ बजेदेखि ९ः१५ बजेसम्म २० मेगावाट तथा हरदी सबस्टेसनमा सोही अवधिमा २५ मेगावाट लोड कटौती गरिएको थियो ।

सुनवल–मैनिया तथा बुटवल क्षेत्रका उद्योगमा बिहान ६ः०२ बजेदेखि करिब ५० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको थियो । हेटौंडा क्षेत्रमा पनि बाढीका कारण माण्डु ६६ केभी लाइनमा करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको छ ।

कावासोती–भरतपुर १३२ केभी लाइनअन्तर्गत भरतपुर सबस्टेसनमा सीभीटी जलेपछि विद्युत् आपूर्तिमा समस्या आएको थियो । सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट र काम्ने सबस्टेसन तथा उद्योगमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको विवरण छ ।

बाढीपहिरोका कारण प्रसारण लाइनमा फाल्ट, उत्पादन केन्द्रमा अवरोध, सबस्टेसनका उपकरणमा क्षति तथा त्यसपछि उत्पन्न ओभरलोडले पश्चिम तथा मध्य नेपालको विद्युत् प्रणालीमा उल्लेख्य दबाब परेको छ । विशेषगरी पोखरा–बुटवल २२० केभी प्रसारण करिडोर र पथलैया आसपासका १३२ केभी लाइनमा आएको अवरोधले ठूलो क्षेत्र प्रभावित भएको हो ।

काठमाडौं उपत्यकामा भने पाटन र टेकु क्षेत्रमा छोटो समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । पाटन सबस्टेसनमा बिहान ९ बजेदेखि ९ः१० बजेसम्म तथा टेकु क्षेत्रमा पनि सोही अवधिमा विद्युत् अवरोध भएको थियो । पाटन क्षेत्रमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएपछि समस्या आएको थियो । नियमित आपूर्तिमा समस्या आएपछि आपत्कालीन आपूर्ति प्रयोग गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिको प्रारम्भिक विवरण संकलन, प्रभावित क्षेत्र पहिचान, वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राविधिक र मर्मत टोली परिचालन गरिएको छ ।

विद्युत् आपूर्ति बन्द भएका क्षेत्रमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत सेवा सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । भारी वर्षा, पहिरो र सडक अवरुद्ध भएकाले कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ । पहुँचमार्ग खुल्नासाथ थप जनशक्ति, उपकरण र सामग्री परिचालन गरी मर्मत तथा विद्युत् प्रणाली पुनःस्थापनाको काम तीव्र पारिने प्राधिकरणले जनाएको छ ।

1

Scroll to Top