Banijya News

बाढीले बागमतीको पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति

1
1.0K Shares

रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बाढीका कारण पर्यटन पूर्वाधारमा ठूलो क्षति हुनुका साथै पर्यटन क्षेत्रमा आबद्ध जनशक्तिको समेत ठूलो मानवीय क्षति भएको बोर्डले जनाएको हो ।

आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सदस्य शहदेव धमलाले बाढीबाट प्रदेशको पर्यटन क्षेत्रमा भएको प्रारम्भिक क्षतिको अनुमान ५२ अर्ब रुपैयाँभन्दा बढी रहेको जानकारी दिए ।

उनका अनुसार बाढीका कारण १४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना–मझौला होटलमा क्षति पुगेको छ । त्यस्तै, ६५ भन्दा बढी रेस्टुरेन्टसमेत बाढीको चपेटामा परेका छन्। होटल तथा रेस्टुरेन्टलगायत पर्यटन व्यवसायमा भएको भौतिक क्षतिसँगै यस क्षेत्रमा कार्यरत जनशक्तिले समेत ठूलो क्षति बेहोर्नुपरेको उनले बताए ।

धमलाका अनुसार बाढीमा परी पथप्रदर्शक (गाइड), पोर्टर तथा सहयोगी भूमिकामा कार्यरत १८८ जनाभन्दा बढीको मृत्यु भएको विवरण प्राप्त भएको छ । त्यस्तै, होटलमा कार्यरत करिब २१४ जनाको मृत्यु भएको तथ्यांकसमेत प्राप्त भएको उनले जानकारी दिए ।

उनले पर्यटन क्षेत्रमा भएको मानवीय क्षतिलाई आर्थिक मूल्यसँग तुलना गर्न नसकिने बताए । प्रभावित परिवारको पुनःस्थापना तथा क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

बाढीबाट पर्यटन पूर्वाधारमा भएको क्षतिपछि प्रदेशको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ । उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै तीनै तहका सरकारले एकीकृत रूपमा पुनःस्थापना र पुनरुत्थानका कार्यक्रम अघि बढाउनुपर्ने उनले बताए ।

धमलाले विपद्पछिको अवस्थामा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि बागमती प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । साथै, प्रभावित पर्यटन व्यवसायी, श्रमिक तथा पीडित परिवारलाई लक्षित गरी राहत, पुनःस्थापना र पुनःव्यवस्थापनका कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गरेर काम अघि बढाएको पनि धमलाले जानकारी दिए । विपद्का समयमा पर्यटन क्षेत्रसँग सम्बन्धित संरचना तथा जनशक्तिको सुरक्षा, तत्कालीन प्रतिकार्य र पुनःस्थापनाका लागि यस्तो संयन्त्रले सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा धमलाले पर्यटन बोर्डले आफ्नो कार्यसम्पादनलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने काम अघि बढाइरहेको जानकारी दिए । बोर्डले पर्यटन क्षेत्रको आम्दानी तथा खर्चसम्बन्धी व्यवस्थापनलाई समेत डिजिटल बनाउने तयारी गरिरहेको उनले बताए ।

ग्रामीण पर्यटनको प्रवद्र्धनलाई पनि बोर्डले प्राथमिकतामा राखेको उनले उल्लेख गरे । स्थानीय पर्यटन क्षेत्रको विकास, विपद् जोखिम न्यूनीकरण र दिगो पर्यटन प्रवद्र्धनलाई एकसाथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।

बाढीका कारण ठूलो क्षति बेहोरेको बागमती प्रदेशको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड, स्थानीय तह तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक देखिएको छ । प्रभावित पूर्वाधारको पुनर्निर्माणसँगै पर्यटन व्यवसायमा आश्रित परिवारको पुनःस्थापना र रोजगारीको पुनःसिर्जना पनि आगामी दिनको महत्वपूर्ण चुनौती हुने देखिएको छ ।

1

Scroll to Top