वाणिज्य बैंकहरूको औसत आधारदर थप घटेर ४.७२ प्रतिशतमा झरेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार बैंकहरूको आधारदर निरन्तर घट्दो क्रममा देखिएको हो ।
तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत थियो । गत असारमा घटेर ४.८३ प्रतिशत पुगेको आधारदर चालु आर्थिक वर्षको साउनमा थप ०.११ प्रतिशत बिन्दुले घट्दै ४.७२ प्रतिशत कायम भएको हो । एक वर्षको अवधिमा भने आधारदर १.०६ प्रतिशत बिन्दुले घटेको छ ।
आधारदर बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा प्रयोग गर्ने प्रमुख सूचकमध्ये एक हो । आधारदर घट्दा बैंकहरूको कर्जाको ब्याजदर न्यून रहने आधार तयार हुन्छ । यद्यपि ऋणीले तिर्नुपर्ने वास्तविक ब्याजदर भने आधारदरमा बैंकले जोड्ने प्रिमियमलगायतका अन्य पक्षमा निर्भर हुन्छ ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाको निक्षेप संरचनामा समेत परिवर्तन देखिएको छ । चालु आर्थिक वर्षको साउनमा कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३३.३० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो हिस्सा ३५.१० प्रतिशत थियो भने गत असारमा ३३.९० प्रतिशत थियो ।
मौद्रिक सूचकमा विस्तृत मुद्रा प्रदाय (एम२) को वृद्धिदर १३.८० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको साउनमा एम२ वृद्धिदर १२.५० प्रतिशत थियो । यस्तै, रिजर्भ मनीको वृद्धिदर १३.६० प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

