अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले एआईआईबीकी अध्यक्ष जोउ जियायीसँग भेटवार्ता गरेका छन् ।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालमा बैंकको लगानी विस्तार तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल गरेका हुन् ।
भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी थप विस्तार गर्न आग्रह गरे । उनले पछिल्लो समय नेपालले भोगिरहेका प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि बैंकबाट थप सहयोग आवश्यक रहेको बताए ।
अर्थमन्त्रीले नेपाललाई सहुलियतपूर्ण वित्तीय स्रोतमा पहुँच विस्तार गर्न पनि आग्रह गरे। विशेषगरी मध्यमकालीन तथा दीर्घकालीन सहायता परिचालन गरी हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा लगानी बढाउन उनले आग्रह गरेका छन् ।
भेटका क्रममा एआईआईबी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना व्यक्त गरिन् । उनले विपद्पछिको उत्थानशील पुनर्निर्माणमा एआईआईबीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
अध्यक्ष जोउले परियोजना तयारीका लागि एआईआईबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’ मार्फत अनुदान सहायता उपलब्ध गराउन सकिने बताइन् । त्यस्तै, ‘स्पेसलाइज्ड फन्ड विन्डो’ अन्तर्गत उपलब्ध हुने अनुदान प्रयोग गरी नेपाललाई प्रदान गरिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा पनि उनले राखिन् ।
नेपाल एआईआईबीको संस्थापक सदस्य राष्ट्र भएकाले नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता अध्यक्ष जोउले दोहोर्याइन् । एआईआईबीबाट नेपालले प्राप्त गर्दै आएको सहयोगलाई आगामी दिनमा थप विस्तार गर्न सकिने संकेतसमेत उनले गरेकी छन् ।
सो अवसरमा अर्थमन्त्री वाग्लेले एआईआईबीको नयाँ अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेकी जोउलाई बधाई दिएका थिए । उनले संस्थापक सदस्य राष्ट्रका रूपमा नेपाललाई बैंकले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
अर्थमन्त्रीले एआईआईबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरे । साथै, एक्सप्रेस सडकसम्बन्धी अध्ययन कार्य पनि शीघ्र सम्पन्न गर्न उनले बैंक नेतृत्वको ध्यानाकर्षण गराए ।
भेटमा एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा हालै आएको बाढीले पुर्याएको क्षतिप्रति पनि अर्थमन्त्री वाग्लेले दुःख व्यक्त गरे। विपद्का कारण प्रभावित पूर्वाधार तथा आयोजनाको पुनर्स्थापनामा आवश्यक सहयोगका लागि समेत उनले आग्रह गरेका छन् ।
नेपालको पूर्वाधार विकासका लागि एआईआईबीको आफ्नै स्रोतसँगै अन्य विकास साझेदार तथा दातृ निकायबाट उपलब्ध हुने स्रोतसमेत परिचालन गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिए। उनले हरित ऊर्जा, विद्युत् प्रसारण, सडक तथा डिजिटल पूर्वाधारलाई नेपालको दीर्घकालीन आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन बैंकसँग सहकार्य गर्न चाहेको बताए ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन् । नेपाल भ्रमणले दुई पक्षबीच पूर्वाधार विकास तथा वित्तीय सहकार्यलाई थप विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

