सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले औद्योगिक उत्पादनको लागत घटाउन तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्ने माग गरेका छन् ।उद्योग संगठन मोरङले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग गरेको छलफलमा उद्योग क्षेत्रका प्रमुख समस्या समाधानका लागि आग्रह गरेको हो ।
छलफलमा उद्योगीले कच्चा तेल आयात, औद्योगिक प्रयोजनमा प्रयोग हुने विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट), जुटजन्य वस्तुको निर्यातमा भारतले बढाएको एन्टिडम्पिङ शुल्क तथा भारतमा खानेतेलको मूल्य घट्दा नेपाली उद्योगमा परेको असरबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सुनसरी–मोरङ औद्योगिक करिडोरसहित समग्र औद्योगिक क्षेत्रको लागत, पूर्वाधार, निर्यात र प्रतिस्पर्धात्मक क्षमता सुधारका लागि उद्योगीले भोगिरहेका समस्या तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
उनका अनुसार विद्युत्मा लगाइएको भ्याट, भारतमा जुटका सामग्री निर्यातमा देखिएको समस्या तथा खानेतेलको मूल्य घटेपछि नेपाली उद्योगमा परेको असर समाधान गर्न सरकारले वैकल्पिक नीति ल्याउन आवश्यक छ । यी समस्या समाधान नभए औद्योगिक उत्पादनको लागत घटाएर उत्पादन तथा उत्पादकत्व बढाउने वातावरण बन्न नसक्ने उनको भनाइ छ ।
भारतले नेपाली जुटजन्य वस्तुमा आगामी अक्टोबरदेखि हालको भन्दा चार गुणाभन्दा बढी एन्टिडम्पिङ शुल्क लगाउने घोषणा गरिसकेको छ । यसबाट नेपाली जुट उद्योगको निर्यात व्यापार प्रभावित हुने उद्योगीको भनाइ छ । शुल्क बढ्दा नेपाली जुटजन्य वस्तु भारतीय बजारमा महँगो पर्ने र त्यसले निर्यातमा प्रत्यक्ष असर पार्ने उनीहरूको तर्क छ ।
त्यस्तै, भारतले कच्चा तथा तयारी खानेतेलको आयातमा महसुल घटाएपछि नेपालबाट भारततर्फ हुँदै आएको प्रशोधित खानेतेलको निर्यातमा समेत असर पर्ने उद्योगीले बताएका छन् ।
औद्योगिक प्रयोजनमा प्रयोग हुने विद्युत्मा लगाइएको भ्याटका कारण उत्पादन लागत बढेको र उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको उद्योगीको दाबी छ । विशेषगरी निर्यातमुखी, साना तथा मझौला, खाद्य तथा औषधि उद्योग प्रभावित भएको उनीहरूले बताएका छन् । औद्योगिक करिडोरमा सुक्खायाममा हुने विद्युत् अवरोध, लो–भोल्टेज र ट्रिपिङको समस्या पनि समाधान गर्न उद्योगीले माग गरेका छन् ।
यसैबीच, उद्योग संगठन मोरङले लामो समयदेखि निर्माण अलपत्र रहेको कटहरी–विराटनगर हुलाकी सडकको करिब ६ किलोमिटर खण्ड तत्काल निर्माण सम्पन्न गर्न पनि मन्त्री साहसँग आग्रह गरेको छ । विराटनगरको हाटखोलादेखि कटहरीको नयाँबजारसम्मको सडक वर्षौँदेखि अलपत्र हुँदा आवतजावतसँगै विराटनगर–रंगेली करिडोरका उद्योगमा कच्चा पदार्थ ल्याउन तथा उत्पादित वस्तु बजार र सीमावर्ती नाकासम्म पुर्याउन समस्या भइरहेको उद्योगीले बताएका छन् ।

