Banijya News

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा डेढ लाख सिलिन्डर ग्यास बाटोमै रोकियो

1
1.0K Shares

बाढीपहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाका लागि खाना पकाउने ग्यास बोकेका १०५ वटा बुलेट बाटोमै रोकिएका छन् । नेपाल आयल निगमका अनुसार ती बुलेटमा करिब १ लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ ।

बुधबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भारतबाट ग्यास बोकेर आएका बुलेट काठमाडौं आउन सकेका छैनन् ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतको बरौनी, पारादीप, हल्दियालगायत स्थानबाट ग्यास लोड गरेर काठमाडौं आउँदै गरेका बुलेट चितवन र हेटौँडा आसपास रोकिएका हुन् । काठमाडौं उपत्यकामा आपूर्ति हुने १६ वटा ग्यास ब्रान्डका लागि ल्याइएका ती बुलेट वीरगन्ज भन्सारबाट भने क्लियर भइसकेका छन् ।

निगमका अनुसार केही बुलेट चितवनको रामनगरमा र केही हेटौँडालगायत क्षेत्रमा रोकिएका छन् । पृथ्वी राजमार्गमा यातायात सञ्चालन हुनासाथ ती बुलेट काठमाडौं भित्रिने प्रवक्ता ठाकुरले बताए ।

बुलेट काठमाडौं आइपुगेपछि दैनिक ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा ग्यास पठाउन सकिने निगमले जनाएको छ । यसले राजमार्ग अवरोधका कारण प्रभावित हुन सक्ने काठमाडौं उपत्यकाको ग्यास आपूर्तिलाई सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top