Banijya News

चाडपर्वमा यातायात भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता

1
1.0K Shares

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म सरकारले तोकेको हालकै भाडादरमा यात्रुलाई सेवा दिने महासंघले जनाएको हो ।

सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले चाडपर्वका समयमा अग्रिम टिकट बुकिङभन्दा पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु मुख्य चुनौती रहेको बताए। सडकको दयनीय अवस्था र विभिन्न स्थानमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा समस्या रहे पनि सरकारसँग समन्वय गरी सेवा निरन्तर सञ्चालन गर्ने उनले बताए ।

सिटौलाले सवारी साधनको प्रकारअनुसार सरकारले निर्धारण गरेको नर्मल, डिलक्स र सुपर डिलक्स भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको स्पष्ट पारे । यात्रु ठगी रोक्न तोकिएको बसपार्क र आधिकारिक काउन्टरबाट मात्रै टिकट काट्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले चाडपर्वका बेला हुने एकतर्फी यात्रु चाप व्यवस्थापनका लागि मालवाहक सवारी साधनलाई निश्चित समय रोक्ने व्यवस्था गर्न तथा सडक मर्मतमा तीव्रता दिन सरकारसँग आग्रह गरे । दशैँको समयमा यात्रुवाहक सवारीलाई प्राथमिकता दिँदै सडकका खाल्डाखुल्डी पुर्न र सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

महासंघले अग्रिम बुकिङ भएका सवारी साधनलाई अन्य प्रयोजनमा रिजर्भमा नपठाउन व्यवसायीलाई निर्देशन दिएको जनाएको छ । त्यस्तै, लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्था कडाइका साथ लागू गरिने सिटौलाले बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले नागरिकको हितलाई ध्यान दिँदै आवश्यक परे घाटा सहेर भए पनि मूल्य स्थिर राख्नुपर्ने उनको धारणा छ ।

1

Scroll to Top