लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशभरका सडक, पुल, झोलुङ्गे पुल, खानेपानी तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । ९ असोजयता आएको बाढीपहिरोबाट विभिन्न पूर्वाधारमा क्षति पुगेपछि सरकारले तत्काल पुनःनिर्माण तथा मर्मतको काम अघि बढाउने तयारी गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार, कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा तथा तनहुँ–नवलपरासीको देदगाउँस्थित पुलका एप्रोच सडक बाढीले बगाएको छ । कालीगण्डकी नदीमाथिको एक पक्की पुलसमेत बाढीले बगाएको मन्त्रालयले जनाएको छ । करिडोरका अन्य विभिन्न सडकखण्डमा पनि क्षति पुगेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा पनि बाढी र नदी कटानका कारण ठूलो क्षति भएको प्रारम्भिक विवरण छ । लमजुङको रामबजार–स्याङ्गे क्षेत्रमा मर्स्याङ्दी नदीको कटानले करिब ४० मिटर सडक पूर्णरूपमा भासिएको छ ।
यसैगरी, मनाङको नासो–खोत्रो क्षेत्रमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ भने नासो–बगरछाप क्षेत्रमा मर्स्याङ्दी नदीको कटानले करिब ५० मिटर सडक भासिएको छ । चामे क्षेत्रमा बाढीले तीनवटा अस्थायी काठे पुलसमेत बगाएको छ ।
बाढीपहिरोले काठमाडौं उपत्यकालाई विभिन्न जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित दर्जनौँ सडकमा क्षति पुगेको छ ।
यसैगरी, सडकसँगै विभिन्न जिल्लाका झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । रुकुम पूर्वको नाथीगाड तथा बागलुङ–पर्वत जलजला फोर्से झोलुङ्गे पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
त्यस्तै, तनहुँको घिरिङ करुवाटार–नवलपुरको बुलिङटार मचेडी, स्याङ्जाको गल्याङ बेल्चौर–पाल्पाको रम्भा नौगाउँ–साठीबजार, पाल्पाको कासिबन–तनहुँको अत्रौली, पर्वत–स्याङ्जा जोड्ने सेतीवेणी तथा म्याग्दी बेनी–पर्वत जलजला जोड्ने झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, बाढीका कारण जलविद्युत् आयोजनामा मात्रै प्रारम्भिक रूपमा १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट कुल ७ सय ८३ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावितमध्ये कालीगण्डकी जलविद्युत् आयोजना सोमबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
यसैगरी, बाढी र पहिरोका कारण ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको मर्मत र पुनः सञ्चालनका लागि काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ । विभिन्न सडकखण्डमा सोमबार पनि मर्मत तथा अवरोध हटाउने काम भइरहेको छ ।
यसैबीच पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको थियो ।
मन्त्री लम्सालले पछिल्लो तीन दिनको वर्षा र बाढीबाट क्षतिग्रस्त पुल, सडक, झोलुङ्गे पुल, खानेपानीलगायत संरचनाको क्षति मूल्यांकन गरी तत्काल बजेट व्यवस्थापन गर्ने बताएका छन् । त्यसपछि टेन्डर प्रक्रियामार्फत पुनर्निर्माणको काम अघि बढाउने र असोजभित्रै पुनर्निर्माण सुरु गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

