चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै बीमा कम्पनीहरूबाट दाबी भुक्तानीका रूपमा ६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले साउन महिनामा मात्रै ३९ हजार ९० वटा दाबीबापत ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।
गत आर्थिक वर्षको साउनमा भने बीमा कम्पनीहरूले ३८ हजार ५२९ वटा दाबीमा ६ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । यस वर्ष दाबी संख्या र भुक्तानी रकम दुवै बढेको देखिन्छ ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले २८ हजार १२१ वटा दाबीबापत ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको साउनमा जीवन बीमकहरूले २८ हजार ५९ वटा दाबीमा ५ अर्ब ९ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
गत वर्षको तुलनामा जीवन बीमातर्फ दाबी भुक्तानी संख्या ०.२२ प्रतिशतले मात्रै बढेको छ । तर, भुक्तानी भएको रकम भने ७.३६ प्रतिशतले वृद्धि भएको छ । दाबीको संख्यामा सामान्य वृद्धि भए पनि भुक्तानी रकम उल्लेख्य बढ्नुले यस वर्ष फछ्र्योट भएका दाबीको औसत रकम तुलनात्मक रूपमा बढी रहेको देखाउँछ ।
यता, निर्जीवन बीमा कम्पनीहरूले साउनमा १० हजार ९६९ वटा दाबीमा १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको सोही महिनामा १० हजार ४७० वटा दाबीमा १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरिएको थियो ।
निर्जीवन बीमातर्फ दाबी फछ्र्योट संख्या ४.७७ प्रतिशतले बढे पनि भुक्तानी रकम भने २०.६६ प्रतिशतले घटेको छ । अर्थात् गत वर्षको तुलनामा यस वर्ष थप दाबी फछ्र्योट भए पनि तिनमा भुक्तानी भएको कुल रकम कम रहेको छ ।
यसबीच बीमा कम्पनीहरूमा फछ्र्योट हुन बाँकी दाबीको संख्या र रकम भने उल्लेख्य देखिएको छ । साउन मसान्तसम्म जीवन बीमा कम्पनीमा मात्रै १ लाख २५ हजार ६३० वटा दाबी फछ्र्योट हुन बाँकी छन् । ती दाबीमा १० अर्ब १४ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्षको साउन मसान्तमा जीवन बीमातर्फ ५७ हजार ६०३ वटा दाबी फछ्र्योट हुन बाँकी थिए । ती दाबीमा ४ अर्ब ६० करोड ६ लाख रुपैयाँ बराबरको दायित्व थियो। एक वर्षको अवधिमा बाँकी दाबी संख्या ११८.१० प्रतिशत र रकम १२०.५६ प्रतिशतले बढेको छ ।
निर्जीवन बीमातर्फ पनि फछ्र्योट हुन बाँकी दाबीको संख्या उल्लेख्य छ । साउन मसान्तसम्म निर्जीवन बीमा कम्पनीमा १ लाख १० हजार ६५० वटा दाबी भुक्तानी हुन बाँकी छन् । ती दाबीमा ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको दायित्व रहेको छ ।
गत वर्षको साउन मसान्तमा निर्जीवन बीमा कम्पनीमा १ लाख ९०८ वटा दाबी फछ्र्योट हुन बाँकी थिए । यसले नयाँ आर्थिक वर्षको सुरुवातमै बीमा कम्पनीहरूमा दाबी फछ्र्योटको चाप बढिरहेको देखाएको छ ।

