Banijya News

चीनसँगको व्यापार ठप्प, चाडपर्वको मुखमा सामान अभाव र महँगीको जोखिम

1
1.0K Shares

नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ नजिकिँदै गर्दा चीनबाट हुने आयात व्यापार ठप्पजस्तै बनेको छ । चीनसँगका प्रमुख व्यापारिक नाका प्राकृतिक विपत्ति, सडक अवरोध र प्रशासनिक जटिलताका कारण एकपछि अर्को बन्द भएपछि चाडपर्व लक्षित अर्बौँ रुपैयाँका सामान सीमापारि तथा बाटोमै अलपत्र परेका छन् ।

चीनबाट नेपालमा सामान भित्र्याउने प्रमुख नाका रसुवागढी, तातोपानी र कोरला तीनवटै नाका प्रभावित भएपछि नेपाली बजारमा चाडपर्वका सामग्रीको अभाव हुनसक्ने र मूल्य बढ्ने जोखिम देखिएको व्यवसायीहरूले बताएका छन् । लत्ताकपडा, जुत्ता, विद्युतीय सामग्री, झिलिमिली बत्ती, फलफूललगायत चाडपर्वमा बढी खपत हुने सामान बोकेका सयौँ कन्टेनर तथा ट्रक रोकिएका छन् ।

चीनबाट मालसामान ढुवानीका लागि सबैभन्दा छोटो र सहज मानिएको रसुवागढी नाका गत भदौ १० गते आएको भीषण बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । बाढीले सडक, पुल तथा भन्सार क्षेत्रको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि नाकाबाट नियमित आयात हुन सकेको छैन ।

रसुवागढी बन्द भएपछि व्यवसायीहरूले तत्कालका लागि सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न खोजेका थिए । तर, भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछि चिनियाँ पक्षबाट देखाइएको अनिच्छाका कारण तातोपानी नाका पनि नियमित रूपमा सञ्चालन हुन सकेन ।

व्यवसायीहरूले तातोपानी नाका खुलाउन निरन्तर पहल गर्दै आए पनि अपेक्षित रूपमा दुई देशबीच उच्च तहमा प्रभावकारी कूटनीतिक संवाद हुन नसकेको गुनासो गरेका छन् । रसुवागढीको सडक तथा पूर्वाधार पुनर्निर्माणमा समय लाग्ने भएकाले तत्कालका लागि तातोपानी नाका नै सबैभन्दा व्यवहारिक विकल्प भएको उनीहरूको भनाइ छ ।

दुवै नाका बन्द भएपछि आयातकर्ताहरूले मुस्ताङस्थित कोरला नाकाबाट सामान ल्याउने प्रयास थालेका थिए । केही कन्टेनर तथा मालवाहक सवारी कोरला हुँदै नेपाल प्रवेशसमेत गरेका थिए । तर, पछिल्ला दिनमा लगातार परेको वर्षा, बाढी र पहिरोका कारण म्याग्दी तथा बेनी आसपासको सडक र पुलमा क्षति पुगेपछि कोरला नाका पनि प्रभावकारी विकल्प बन्न सकेको छैन ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार, कोरला नाकाको चिनियाँ भूभाग तथा भन्सार क्षेत्रमा सयौँ कन्टेनर रोकिएका छन् । उनका अनुसार, दशैं, तिहार तथा जाडोयामका लागि ल्याउन लागिएका लत्ताकपडा, झिलिमिली बत्ती लगायतका सामान बोकेका करिब ५ सय ट्रक–कन्टेनर चीनतर्फ अलपत्र अवस्थामा छन् ।

व्यवसायीका अनुसार, भदौको अन्तिम सातासम्म नेपाल भित्र्याएर असोजको पहिलो सातासम्म देशभरका बजारमा पठाइसक्नुपर्ने सामान अझै चीनकै विभिन्न स्थानमा रोकिएका छन् । यसले गर्दा चाडपर्वका लागि आवश्यक सामग्री समयमै बजारमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मालवाहक सवारी वर्गीय संयोजक तथा नेपाल–तिब्बत यातायात समितिका पूर्वअध्यक्ष दिलबहादुर श्रेष्ठका अनुसार चीनतर्फ रोकिएका करिब १८० देखि १९० वटा मालवाहक गाडीलाई मुस्ताङ हुँदै काठमाडौं ल्याउने प्रयास भइरहेको थियो । तर, कोरला जोड्ने सडकमा समेत अवरोध भएपछि ती सामान दशैंअघि काठमाडौं आइपुग्ने सम्भावना निकै कम भएको उनले बताए ।

ढुवानी भाडा चार गुणासम्म बढ्यो

उत्तरी नाकामा देखिएको अवरोधले आयातकर्ताको ढुवानी लागतसमेत अत्यधिक बढेको छ । सामान्य अवस्थामा रसुवागढीबाट काठमाडौंसम्म एउटा कन्टेनर सामान ल्याउँदा करिब १ लाख रुपैयाँ ढुवानी खर्च लाग्ने गरेकोमा कोरला नाका प्रयोग गर्दा यही खर्च ४ लाखदेखि साढे ५ लाख रुपैयाँसम्म पुगेको व्यवसायीहरूको भनाइ छ । सडक दूरी लामो हुनु, भौगोलिक अवस्था कठिन हुनु र जोखिम बढ्नुका कारण ढुवानी भाडा साविकको तुलनामा ३ सयदेखि ४ सय प्रतिशतसम्म बढेको कार्कीले बताए ।

सामान्यतया एउटा कन्टेनरमा चाडपर्व लक्षित १ करोडदेखि ३ करोड रुपैयाँसम्मको सामान हुने गरेको र औसत मूल्य करिब डेढ करोड रुपैयाँ रहने व्यवसायीहरूको भनाइ छ । यस्तो अवस्थामा एउटै कन्टेनरमा ढुवानी खर्चमै थप ४ लाख रुपैयाँभन्दा बढी लाग्दा त्यसको प्रत्यक्ष असर वस्तुको बिक्री मूल्यमा पर्ने उनीहरूको तर्क छ ।

समुद्री र हवाई मार्ग तत्काल विकल्प नहुने

सडक मार्गबाट सामान ल्याउन समस्या भएपछि केही व्यवसायीले समुद्री मार्गबाट चीनको सामान नेपाल ल्याउने विकल्पबारे समेत विचार गरेका छन् । तर, दशैंका लागि भने यो विकल्प व्यावहारिक नरहेको व्यवसायीहरू बताउँछन् ।

चीनका विभिन्न बन्दरगाहबाट सिंगापुर हुँदै भारतको कोलकाता बन्दरगाह र त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल सामान ल्याउँदा सामान्य अवस्थामा पनि ३० देखि ४५ दिन लाग्ने गरेको नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताए । उनका अनुसार, समुद्री मार्गबाट सामान ल्याउँदा प्रतिक्युबिक मिटर ८०० देखि १ हजार चिनियाँ युआनसम्म खर्च लाग्छ । सडक मार्गको तुलनामा यो करिब दोब्बर महँगो पर्न सक्छ ।

अन्तर्राष्ट्रिय रूपमा विभिन्न क्षेत्रमा जारी युद्ध तथा तनावका कारण पानीजहाजले रुट परिवर्तन गर्नुपर्दा ढुवानी समय अझै लम्बिने गरेको व्यवसायीहरूको भनाइ छ । यस्तो अवस्थामा समुद्री मार्गबाट अहिले पठाइएका सामान तिहार र छठपछि मात्रै नेपाल आइपुग्ने सम्भावना रहेको पराजुलीले बताए ।

हवाई मार्गबाट सामान ल्याउनु झनै महँगो पर्ने व्यवसायीहरूको भनाइ छ । हवाई कार्गोबाट सामान ल्याउँदा प्रतिकिलो १ हजार २०० देखि १ हजार ३०० रुपैयाँसम्म खर्च लाग्ने भएकाले लत्ताकपडा तथा घरायसी सामानका लागि यो विकल्प व्यावहारिक नहुने उनीहरूको तर्क छ ।

तातोपानी खुलाउन कूटनीतिक पहलको माग

तीनवटै उत्तरी नाका प्रभावित भएपछि व्यवसायीहरूले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यापार संघका प्रथम उपाध्यक्ष तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव पराजुलीका अनुसार तातोपानी नाका खुलाउन व्यवसायीहरूको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटेर ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

सरकारले भौतिक पूर्वाधार तथा परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग तत्काल वार्ता गरी नाका सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने व्यवसायीहरूको माग छ । रसुवागढीको पुनर्निर्माणमा लामो समय लाग्ने भएकाले तत्कालका लागि तातोपानीलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।

व्यवसायीहरूले सरकारी निकायबीच पर्याप्त समन्वय र प्रभावकारी कूटनीतिक पहल हुन नसक्दा आयातकर्ताको अर्बौँ रुपैयाँ बराबरको सामान सीमापारि रोकिएको बताएका छन् ।

बीमा दाबीमा पनि समस्या

बाढीपहिरोका कारण आयातकर्ताले व्यहोरेको अर्को ठूलो समस्या बीमा दाबीसम्बन्धी बनेको छ । चीनतर्फ सामान रोकिँदा वा क्षति हुँदा बीमा व्यवस्थाले केही हदसम्म संरक्षण गर्ने भए पनि नेपालतर्फ भन्सार प्रक्रिया र बीमाको व्यवस्थामा व्यावहारिक समस्या देखिएको व्यवसायीहरूको भनाइ छ ।

संघका अध्यक्ष कार्कीका अनुसार चिनियाँ भूभागमा रहँदासम्म सामानको बीमा सुरक्षित हुने भए पनि नेपालतर्फ भन्सार जाँचपासपछि मात्रै सवारीको बीमा हुने अभ्यासका कारण केही व्यवसायीले क्षतिपूर्ति पाउन नसक्ने अवस्था आएको छ ।

गत भदौ १० गते बिहान करिब साढे ८ देखि ९ बजेको समयमा बाढी आएको र भन्सार परिसरमा जाँचपास भएर गन्तव्यतर्फ हिँड्न तयारी अवस्थामा रहेका कतिपय गाडीको बीमा नभइसकेकाले क्षतिको दाबी गर्न समस्या भएको उनको भनाइ छ ।

व्यवसायीहरूले घरजग्गा तथा अन्य सम्पत्ति बैंकमा धितो राखेर ऋण लिई सामान आयात गरेका कारण लगातारको प्राकृतिक विपत्तिले उनीहरूलाई गम्भीर आर्थिक संकटमा पारेको बताएका छन् । गत वर्षसमेत रसुवामा आएको बाढीबाट ठूलो क्षति व्यहोरेका व्यापारीहरू यस वर्ष दोहोरो विपत्तिमा परेपछि व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ ।

यसरी एकातिर चाडपर्व लक्षित सामान समयमै नेपाल भित्रिन नसक्ने अवस्था छ भने अर्कोतर्फ ढुवानी लागतमा भएको भारी वृद्धिले बजार मूल्य बढ्ने जोखिम देखिएको छ । सडक मार्ग तत्काल सञ्चालनमा नआए समुद्री तथा हवाई मार्गबाट आयात गर्दा समय र लागत दुवै अत्यधिक बढ्ने भएकाले दशैं, तिहार र छठको बजारमा यसको प्रत्यक्ष असर पर्ने व्यवसायीहरूको आकलन छ ।

1

Scroll to Top