Banijya News

नबिल बैंकको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

नबिल बैंक लिमिटेडको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ ।

एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर एकमुष्ट बिक्री गर्न बैंकमा निवेदन दिएका छन् । उक्त निवेदन बैंकको सञ्चालक समितिको बैठकमा पेस हुँदा आवश्यक प्रक्रिया पूरा गरी सेयर बिक्री तथा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंककै विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो ।

इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विनामार्ग, दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन दिँदा सूचनाको प्रकाशन मिति र प्रकाशित पत्रिकाको नामसमेत उल्लेख गरी गोप्य खामबन्दी वा शिलबन्दी निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेमा प्रचलित कानुनी व्यवस्थाअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले स्पष्ट पारेको छ ।

1

Scroll to Top