आगामी हिउँदमा विद्युत् माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न नेपालले भारतबाट ११५४.८० मेगावाटसम्म विद्युत् आयात गर्ने योजना बनाएको छ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८३/८४ को सुक्खा याम अर्थात् पुसदेखि वैशाखसम्मका लागि विद्युत् व्यवस्थापन कार्ययोजना तयार गर्दै आयातको योजना अघि सारेको हो ।
प्राधिकरणका अनुसार, हाल प्रणालीमा कुल ३७३९.४० मेगावाट विद्युत् उत्पादन क्षमता जडित छ । २०८३ मङ्सिरसम्म थप ३२०.६० मेगावाट विद्युत् प्रणालीमा जोडिने अनुमान गरिएको छ । यसपछि कुल जडित क्षमता ४०६० मेगावाट पुग्नेछ ।
तर, हिउँदमा नदीहरूमा पानीको बहाव घट्ने भएकाले जडित क्षमताको सबै विद्युत् उत्पादन गर्न सकिँदैन। सुक्खा याममा कुल क्षमताको करिब ३० प्रतिशत अर्थात् १२१८ मेगावाट मात्रै स्वदेशी आयोजनाबाट उत्पादन हुने प्राधिकरणको प्रक्षेपण छ । सो अवधिमा औसत राष्ट्रिय उच्च माग २२९२ मेगावाट रहने अनुमान गरिएको छ ।
माग र आन्तरिक उत्पादनबीचको खाडल पूर्ति गर्न भारतबाट विभिन्न प्रसारण लाइनमार्फत विद्युत् आयात गरिनेछ । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६००.८० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट तथा बिहार–उत्तर प्रदेश जोड्ने प्रसारण लाइनबाट ३५० मेगावाट आयात गर्ने योजना छ । त्यस्तै, जनवरीदेखि मे २०२७ सम्म द्विपक्षीय आधारमा थप १५० मेगावाट आयात गर्ने लक्ष्य राखिएको छ ।
आन्तरिक उत्पादन र आयातबाट सुक्खा याममा कुल २३७२.७७ मेगावाट विद्युत् उपलब्ध गराउने प्राधिकरणको योजना छ ।
भारतले ढल्केबर–मुजफ्फरपुरबाट ६००.८० मेगावाट आयातका लागि आगामी डिसेम्बर अन्तिमसम्म अनुमति दिएको छ । त्यसपछि थप आयातका लागि भारतसँग पहल गरिने प्राधिकरणले जनाएको छ । सन् २०२७ को अप्रिल र मे महिनाको आयात भने त्यतिबेलाको वास्तविक माग र आपूर्तिको अवस्थाका आधारमा तय गरिनेछ ।

