आन्तरिक राजस्व विभागले सुनचाँदीको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्क संकलन तथा दाखिलासम्बन्धी कार्यविधि जारी गरेको छ । विभागले ‘सीप प्रवर्द्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३’ असोज १३ गते सार्वजनिक गरेको हो । कार्यविधि भने साउन १ गतेदेखि नै लागू हुने व्यवस्था गरिएको छ ।
आर्थिक ऐन, २०८३ अनुसार अन्तिम उपभोक्तालाई सुन, चाँदी तथा त्यसबाट बनेका गहना वा वस्तु बिक्री गर्दा बिक्री मूल्यको ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क उठाउनुपर्नेछ । उक्त शुल्क व्यवसायीले संकलन गरी सरकारको राजस्वमा दाखिला गर्नुपर्नेछ ।
कार्यविधिले पुराना गहना साटेर नयाँ गहना खरिद गर्ने ग्राहकका लागि छुट्टै व्यवस्था गरेको छ । ग्राहकबाट पुरानो गहना खरिद गरी सोही तौल बराबरको मूल्यसम्म नयाँ गहना बिक्री गर्दा सीप प्रवर्द्धन शुल्क लाग्ने छैन । तर, पुरानो गहनाको तौलभन्दा बढी सुनचाँदी थप गरी नयाँ गहना बिक्री गरिएमा थपिएको सुनचाँदीको मूल्य र सम्पूर्ण ज्यालामा शुल्क उठाउनुपर्नेछ ।
व्यवसायीले कारोबार भएको वा नभएको अवस्थामा समेत प्रत्येक महिनाको विवरण अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउनुपर्नेछ । संकलित शुल्क पनि सोही समयसीमाभित्र राजस्व शीर्षक नम्बर ११४१३ मा दाखिला गर्नुपर्नेछ । स्थायी लेखा नम्बर (प्यान) लिएका व्यवसायीले सीप प्रवर्द्धन शुल्कका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन ।
समयमै विवरण नबुझाएमा कार्यविधिअनुसार थप शुल्क लाग्नेछ भने शुल्क ढिलो दाखिला गरे वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था छ । कारोबार कम देखाउने वा बिक्री विभाजन गरी शुल्क छल्ने प्रयास गरेमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्न सक्नेछ ।
व्यवसायीले तोकिएको ढाँचामा बीजक जारी गर्नुपर्नेछ । गहना बनाउन कालीगढकहाँ सुनचाँदी लैजाँदा तथा फर्काउँदा सम्बन्धित राजस्व कार्यालयको छाप लागेको चलान साथमा राख्नुपर्नेछ । कालीगढसँग पनि स्थायी लेखा नम्बर हुनुपर्ने र पुराना गहना खरिद गर्दा ग्राहकको परिचयपत्र तथा खरिदको प्रमाण लिनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

