नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा बुधबार नबिल बैंक र गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले नबिलको ५ प्रतिशत र गरिमाको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात् नबिल बैंकको शेयरमूल्य ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ भने गरिमाको ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । हिजो मंगलबार दोस्रो बजारमा नबिलको शेयर प्रतिकित्ता ५६६ रुपैयाँमा र गरिमाको ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ ।

