Banijya News

सिद्धार्थ बैंकको एसएमई कर्जामा आईएफसीको जोखिम साझेदारी

1
1.0K Shares

सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा सम्बन्धी सम्झौता भएको छ ।

स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने एमएसएमई कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्नेछ । बैंकका अनुसार नेपालमा आईएफसीले जोखिम साझेदारी गर्ने यो पहिलो पहल हो ।

सम्झौताले विशेषगरी साना तथा मझौला व्यवसायमा कर्जा पहुँच विस्तार गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ । कर्जामा रहेको जोखिमको आधा हिस्सा आईएफसीले वहन गर्ने भएपछि बैंकलाई एमएसएमई क्षेत्रमा थप कर्जा प्रवाह गर्न सहज हुने बताइएको छ ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले आईएफसीसँग भएको ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारीलाई एमएसएमई कर्जा पोर्टफोलियो विस्तारको महत्वपूर्ण आधारका रूपमा लिएका छन् । चुनौतीपूर्ण आर्थिक परिस्थितिमा साना व्यवसायीलाई कर्जा उपलब्ध गराउने बैंकको क्षमता यस सम्झौताले थप सुदृढ बनाउने उनको भनाइ छ ।

बैंकले विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ । जोखिम साझेदारी सुविधाले बैंकलाई नयाँ तथा विद्यमान एमएसएमई ग्राहकलाई वित्तीय स्रोत उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिद्धार्थ बैंक र आईएफसीबीच यसअघि पनि विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । बैंक सन् २०१४ मा आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भएको थियो । त्यसैगरी, सन् २०२३ मा बैंकले आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलर बराबरको सिन्डिकेटेड कर्जा सुविधा प्राप्त गरेको थियो ।

यसका अतिरिक्त जोखिम व्यवस्थापन, लैंगिक वित्त, डिजिटल वित्त र जलवायु वित्तलगायत क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धिका लागि पनि आईएफसीसँग बैंकले सहकार्य गर्दै आएको जनाएको छ ।

1

Scroll to Top