Banijya News

अर्थ समितिको निर्देशनः आईपीओदेखि नेप्सेको प्रविधि सुधारसम्म कडाइ

1
1.0K Shares

प्रतिनिधि सभाको अर्थ समितिले नेपालको पूँजीबजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सुधार अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।समितिले बजारमा देखिएका संरचनागत तथा प्रविधिगत कमजोरी हटाउँदै लगानीकर्ताको हित संरक्षण र नियामकीय प्रभावकारिता बढाउन विभिन्न सुधारका उपाय अघि सारेको हो ।

समितिले कम्पनीको पूँजी पर्याप्तता, प्रविधि तथा नेटवर्कको अवस्था, वास्तविक वित्तीय स्थिति र प्रतिफललगायतका आधारमा कम्पनीको स्तरीकरण तथा प्राथमिकीकरण गरी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति दिनुपर्नेमा जोड दिएको छ । यस्तै, संस्थापकले अनिवार्य रूपमा धारण गर्नुपर्ने सेयर स्वामित्वसम्बन्धी व्यवस्थाको समेत पुनरावलोकन गर्न निर्देशन दिएको छ ।

समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचनाको कामलाई तीव्रता दिन तथा नयाँ अनलाइन ट्रेडिङ प्रणाली सञ्चालनमा ल्याउन पनि निर्देशन दिएको छ । बजारमा हुने कारोबारको सूक्ष्म निगरानी बढाई अनियमिततामा संलग्न व्यक्ति वा कम्पनीमाथि तत्काल कारबाही गर्नुपर्ने समितिको भनाइ छ ।

त्यस्तै, नेप्से र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाउन समितिले निर्देशन दिएको छ । पूँजीबजारका प्रमुख संस्थामा नेतृत्वसम्बन्धी रिक्तता लामो समयसम्म रहन नहुने समितिको धारणा छ ।

दोस्रो बजारमा मिलेमतोमा कारोबार गर्ने, कर्नरिङ गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा कृत्रिम माग वा मूल्य बढाएर सेयर बिक्री गर्ने गतिविधिमाथि कडाइ गर्न पनि समितिले निर्देशन दिएको छ । सर्कुलर ट्रेडिङ, पम्प एन्ड डम्पलगायतका बजार चलखेल रोक्न प्रभावकारी निगरानी तथा कारबाही व्यवस्था लागू गर्नुपर्ने समितिको निष्कर्ष छ ।

समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेप्से र सीडीएससीको भूमिका स्पष्ट हुने गरी विशेष व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।

1

Scroll to Top