जलविद्युत् आयोजना विकास गर्दै आएको एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
आईपीओ निष्कासनसम्बन्धी सम्झौता २०८३ असोज ९ गते भएको हो। सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एबीपी इनर्जीको प्रस्तावित आईपीओ निष्कासन तथा बिक्रीसम्बन्धी प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था र सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइनेछ । सिद्धार्थ क्यापिटलले कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ ।
एबीपी इनर्जीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको हो ।
कम्पनीका अनुसार, आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५० लाख रुपैयाँ रहेको छ । कुल १ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिद्धार्थ बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता गरिसकेको छ ।
आयोजनाको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी पुगेको कम्पनीले जनाएको छ । कम्पनीले २०८४ वैशाख मसान्तसम्ममा आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
एबीपी इनर्जीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा लामो अनुभव भएका पूर्णलाल श्रेष्ठ र बलराम खतीवडाका साथै नेपाली प्राविधिक उद्यमी तथा एफवान सफ्ट इन्टरनेसनल र इसेवाका संस्थापक अजगर अली रहेका छन् । आईपीओबाट संकलन हुने रकमले कम्पनीको पुँजी संरचना तथा आयोजना विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

