Banijya News

एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने व्यवस्था सुरु

1
1.0K Shares

नेपाल राष्ट्र बैंकको आग्रहपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन् । आसन्न बडादसैं तथा अन्य ठूला चाडपर्वलाई लक्षित गर्दै सर्वसाधारण, विद्यार्थी तथा खुद्रा रकम आवश्यक पर्ने ग्राहकको सहजताका लागि बैंकहरूले एटीएम मेसिन क्यालिब्रेट गरी १०० रुपैयाँका नोट राख्न थालेका हुन् ।

यसअघि अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न मिल्ने व्यवस्था थियो । तर, राष्ट्र बैंकको आग्रह र आवश्यक प्राविधिक तयारीपछि काठमाडौं उपत्यकाका केही प्रमुख स्थानमा रहेका एटीएमबाट १०० रुपैयाँका नोटसमेत निकाल्न सकिने व्यवस्था कार्यान्वयनमा आएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार उपत्यकाका केही महत्वपूर्ण स्थानमा यो व्यवस्था सुरु भइसकेको छ । उनका अनुसार विशेषगरी विद्यार्थी तथा सर्वसाधारणको सहजताका लागि एटीएममा १०० रुपैयाँ दरका नोट राख्न बैंकहरूलाई आग्रह गरिएको हो। हाल सिंहदरबार, न्युरोडलगायतका केही स्थानका एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था गरिएको छ ।

बैंकहरूले आफ्ना कुल एटीएममध्ये करिब १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्न सकिने जानकारी राष्ट्र बैंकलाई दिएका छन् । चाडपर्वका समयमा साना दरका नयाँ नोट साट्न बैंकका काउन्टरमा ठूलो भीड लाग्ने भएकाले एटीएमबाटै यस्तो नोट उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै १०० रुपैयाँका नोट एटीएमबाट वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो । यसबाट साना दरका नोट साट्न बैंक तथा वित्तीय संस्थामा लाग्ने ग्राहकको भीड उल्लेख्य रूपमा घट्ने राष्ट्र बैंकको अपेक्षा छ । पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत दिइएको छ ।

तर, तत्काल सबै एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न भने प्राविधिक रूपमा सम्भव छैन । बैंकरहरूका अनुसार पुराना मोडलका अधिकांश एटीएममा नोट राख्ने क्यासेट वा च्याम्बर दुईवटा मात्रै हुन्छन् । ती च्याम्बरमा १ हजार र ५०० रुपैयाँका नोट राखिँदै आएकाले १०० रुपैयाँको नोट थप्न कठिनाइ हुन्छ ।

नयाँ प्रविधिका एटीएममा भने तीनदेखि चारवटासम्म क्यासेट हुने भएकाले अतिरिक्त च्याम्बर क्यालिब्रेट गरेर १०० रुपैयाँका नोट राख्न सकिन्छ । हाल सञ्चालनमा रहेका कुल एटीएममध्ये करिब २५ प्रतिशत नयाँ प्रविधिका रहेकाले तत्काल ती मेसिनबाट १०० रुपैयाँका नोट उपलब्ध गराउन सकिने बैंकहरूको भनाइ छ ।

एटीएमबाटै १०० रुपैयाँको नोट उपलब्ध हुन थालेपछि थोरै रकम आवश्यक पर्ने विद्यार्थी, न्यून आय भएका नागरिक तथा खुद्रा रकम चाहिने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top