गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण करिब ६१० मेगावाट विद्युत् उत्पादन राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार भदौ १० को बाढीबाट ४३० मेगावाट र पछिल्लो पहिरोबाट करिब १८० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको हो ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली ३बी २२० केभी हबमा ठूलो क्षति पुर्याउनुका साथै विभिन्न जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको थियो । यसका कारण करिब ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ । बाढीबाट प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा मात्रै प्रारम्भिक रूपमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यस्तै, म्याग्दीस्थित २२० केभी दाना सबस्टेसनसँग जोडिएको दाना–कुश्मा प्रसारण लाइनमा पहिरोले क्षति पुर्याउँदा थप १७० देखि १८० मेगावाट विद्युत् प्रणालीमा आउन सकेको छैन । प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुगेपछि निलगिरी, मिस्त्रीखोला र थापाखोलालगायत आयोजनाबाट उत्पादित विद्युत् प्रवाह प्रभावित भएको हो ।
प्राधिकरणले दाना–कुश्मा खण्डमा क्षतिग्रस्त तीनवटा टावर पुनर्निर्माणका लागि प्राविधिक टोली परिचालन गरेको छ । टावरको जग सुरक्षित रहेको अवस्थामा सोही स्थानमा नयाँ टावर खडा गर्न सकिनेछ । यस्तै, तत्काल विद्युत् प्रसारण सुचारु गर्न इमर्जेन्सी रेस्टोरेसन सिस्टम (ईआरएस) टावर निर्माण गर्ने विकल्पसमेत अघि सारिएको छ ।
प्राधिकरणका अनुसार उपयुक्त समथर जमिन र तार तान्न पर्याप्त क्षेत्र उपलब्ध भएमा ईआरएस टावर ७ देखि १० दिनभित्र निर्माण गरी विद्युत् प्रसारण सुचारु गर्न सकिन्छ । तर, पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुँदा प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्नै कठिनाइ भइरहेको छ । स्थलगत निरीक्षणपछि ईआरएस टावर सम्भव हुने वा स्थायी टावर निर्माण गर्नुपर्ने भन्ने टुंगो लाग्नेछ ।
ईआरएस टावर राख्न सम्भव नभए नयाँ फाउन्डेसन निर्माण गरी स्थायी टावर जडान गर्नुपर्ने हुन्छ । त्यसका लागि फाउन्डेसनको क्युरिङलगायत काम पूरा गर्न कम्तीमा एक महिना वा सोभन्दा बढी समय लाग्न सक्ने प्राधिकरणले जनाएको छ ।
विद्युत् उत्पादन घटेपछि नेपालले भारततर्फ गर्दै आएको निर्यातमा समेत केही कटौती गरिएको छ । वर्षायाममा दैनिक १ हजार मेगावाटसम्म विद्युत् भारत निर्यात हुँदै आएको भए पनि अहिले पिक आवरमा प्रणालीको माग र उपलब्ध उत्पादनअनुसार निर्यात घटाइएको छ । पिक आवर सकिएपछि भने अन्य समयमा नियमित निर्यातलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी क्षेत्रमा बाढीले विद्युत्गृह, सुरुङ तथा अन्य संरचनामा थुपारेको लेदो र भग्नावशेष हटाउने कामलाई अहिले प्राथमिकता दिइएको छ । नेपाली सेना तथा सुरक्षा निकायसँगको समन्वयमा सफाइको काम भइरहेको छ । सफाइ सम्पन्न भएपछि उपकरणहरूको अवस्था परीक्षण गरी विस्तृत क्षति मूल्याङ्कन गरिनेछ ।
पुनर्निर्माणका लागि आवश्यक बजेट यकिन भएपछि प्राधिकरणले सुरुमा आन्तरिक स्रोत परिचालन गर्ने योजना बनाएको छ । आन्तरिक स्रोत अपुग भएमा सहयोगका लागि इच्छुक विदेशी दातृ निकायसँग वित्तीय सहयोग मागिनेछ ।
यसअघि अविरल वर्षाका कारण कालीगण्डकी, माथिल्लो तथा तल्लो मर्स्याङ्दी र मोदी करिडोरका आयोजना एकैपटक बन्द हुँदा एकै दिन १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित भएको थियो । त्यस बेला उच्च माग व्यवस्थापन गर्न भारतबाट २०० मेगावाटसम्म विद्युत् आयात गरिएको थियो भने केही उद्योगको लोडसमेत ५० प्रतिशतसम्म घटाइएको थियो ।
हाल भने विद्युत् प्रणालीको अवस्था सामान्य बन्दै गएको प्राधिकरणले जनाएको छ । घरायसी तथा औद्योगिक ग्राहकको विद्युत् आपूर्ति कटौती गरिएको छैन । प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार, उपलब्ध अर्ध–जलाशययुक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गरी पिक आवरको माग व्यवस्थापन भइरहेको छ ।

