Banijya News

रिज लाइन इनर्जीद्वारा साढे दश प्रतिशत लाभांश प्रस्ताव

1
1.0K Shares

रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्नका लागि कम्पनीले कात्तिक १७ गते पाँचौँ वार्षिक साधारण सभा आह्‌वान गरेको छ ।

कम्पनीको साधारण सभा आगामी कात्तिक १७ गते मंगलबार ललितपुर महानगरपालिका–१ स्थित कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा हुने भएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम करसहित १०.५२६३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने प्रस्तावसमेत रहेको छ । कम्पनीले लाभांशका लागि १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबरको रकम प्रस्ताव गरेको छ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, सोही अवधिमा समाप्त आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सहायक कम्पनी स्थापना गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेस हुने कम्पनीले जनाएको छ ।

विशेष प्रस्तावतर्फ आर्थिक वर्ष २०८२/०८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गर्ने तथा अर्थपूर्ण कारोबार र सीमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, धुपौखरी चेपे हाइड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, मेवा खोला जलविद्युत आयोजना (१२.५०४ मेगावाट) को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण वा बिक्री गर्ने प्रस्ताव पनि सभामा पेस हुने भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

1

Scroll to Top