Banijya News

तीनवटै उत्तरी नाका प्रभावित भएपछि तातोपानी खोल्न सरकारको दौडधुप

1
1.0K Shares

चीनसँगको उत्तरी व्यापारिक नाका रसुवागढी–केरुङ र मुस्ताङको कोरला प्राकृतिक विपद्का कारण प्रभावित भएपछि सरकारले सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन पहल तीव्र बनाएको छ । नेपालतर्फको अरनिको राजमार्गको अवस्था निरीक्षण गर्दा सवारीसाधन सञ्चालन गर्न सकिने देखिएपछि अब तातोपानी नाका खोल्ने विषय नेपाल–चीनबीचको समन्वय र चिनियाँ पक्षको निर्णयमा निर्भर बनेको छ ।

नेपाल सरकारका विभिन्न निकाय र चिनियाँ दूतावासका अधिकारी सम्मिलित संयुक्त टोलीले मंगलबार अरनिको राजमार्ग हुँदै तातोपानी नाकासम्म पुगेर स्थलगत निरीक्षण गरेको थियो । टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए ।

स्थलगत निरीक्षणको मुख्य उद्देश्य नेपालतर्फको सडकको वास्तविक अवस्था बुझ्नु र नाका सञ्चालनका लागि सडक पूर्वाधार पर्याप्त छ कि छैन भन्ने यकिन गर्नु थियो । निरीक्षणपछि नेपालतर्फको सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको निष्कर्ष निकालिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार रसुवामा आएको बाढी तथा त्यसपछि भएको लगातारको वर्षाका कारण केरुङ र कोरला नाकामा ठूलो क्षति भएपछि सरकारले तातोपानीलाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्राथमिकतामा राखेको हो । उनका अनुसार, अरनिको राजमार्गको प्रभावित खण्डलाई सञ्चालनयोग्य बनाइएको छ र केही दिनभित्रै तातोपानी नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले पनि नेपालतर्फको सडकका कारण तातोपानी नाका सञ्चालन गर्न ठूलो अवरोध नरहेको बताएका छन् । उनका अनुसार, वर्षायाममा समेत उक्त सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो । वर्षा रोकिएपछि अहिले दुईतर्फी आवागमन सहज बनाउन आवश्यक सुधारको काम अघि बढाइएको छ ।

उनका अनुसार, सडकमा केही सुधार आवश्यक भए पनि एक–दुई दिनमै काम गर्न सकिने अवस्था छ । दुईतर्फी आवागमन पूर्ण रूपमा सहज बनाउन बढीमा चार दिन लाग्ने उनको भनाइ छ ।

तातोपानी भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत रमेशबहादुर शाहका अनुसार भदौ १२ गतेदेखि नाका पूर्ण रूपमा बन्द रहे पनि पहिले अवरुद्ध भएको स्थानमा अहिले ट्र्याक खुलिसकेको छ । त्यस क्षेत्रमा सवारीसाधन गुडाउन सकिने अवस्था रहेको उनले बताए ।

हालसम्म नेपालतर्फबाट ४५ फिट लम्बाइका ५७ वटा कन्टेनर पार भइसकेका छन् । बाटोमा अड्किएका लोडेड सवारीसाधनसमेत गन्तव्यतर्फ पठाइसकिएको छ । यसले तातोपानी नाका सञ्चालनमा मुख्य समस्या ण्नेपालतर्फको सडक मात्रै नभएको देखाएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले पनि स्थलगत निरीक्षणका क्रममा कोदारी राजमार्गबाट ट्रक सञ्चालन गर्न सकिने अवस्था देखिएको बताएका छन् । सडकको अवस्था सुधार भइसकेकाले भन्सार नाका खुलेमा मालवाहक सवारी सञ्चालनमा समस्या नहुने निष्कर्ष संयुक्त टोलीको छ ।

तर, नाका कहिलेदेखि र कुन प्रक्रियाबाट सञ्चालन गर्ने भन्ने निर्णय भने उच्च तहबाट हुनुपर्नेछ । नेपालतर्फको पूर्वाधार सञ्चालनयोग्य भए पनि चीनतर्फको भौतिक अवस्था, सुरक्षा तथा प्रशासनिक तयारीका विषयमा चिनियाँ पक्षको सहमति आवश्यक छ ।

चाडपर्वको मुखमा आपूर्ति दबाब

नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार तथा छठ नजिकिँदै गर्दा चीनबाट हुने व्यापारिक आयात प्रभावित भएपछि व्यवसायीहरू थप चिन्तित बनेका छन् । चाडबाडलाई लक्षित गरी व्यवसायीहरूले अर्डर गरेका लत्ताकपडा, जुत्ता, विद्युतीय सामग्री, झिलिमिली बत्ती तथा फलफूल बोकेका सयौँ कन्टेनर सीमापारि र बाटोमै अलपत्र परेका छन् ।

चीनसँगका प्रमुख व्यापारिक नाकाहरू प्राकृतिक विपत्ति तथा प्रशासनिक जटिलताका कारण एकपछि अर्को गर्दै प्रभावित भएपछि बजारमा सामानको अभाव र मूल्यवृद्धिको जोखिम बढेको व्यवसायीहरूको भनाइ छ ।

चीनबाट सामान ल्याउन सबैभन्दा छोटो, सहज र तुलनात्मक रूपमा सस्तो मानिने रसुवागढी नाका गत भदौ १० गते आएको भीषण बाढीका कारण ठूलो क्षति व्यहोरेर बन्द भएको हो । रसुवागढी अवरुद्ध भएपछि व्यवसायीहरूले वैकल्पिक रूपमा तातोपानी नाका प्रयोग गर्न खोजेका थिए ।

तर, भोटेकोशी नदीमा आएको बाढी र त्यसपछि चिनियाँ पक्षबाट नाका सञ्चालनमा तत्काल सहजीकरण हुन नसक्दा तातोपानी पनि नियमित रूपमा सञ्चालन हुन सकेन । त्यसपछि व्यवसायीहरूले मुस्ताङको कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका थिए ।

तर, असोज ८ गतेदेखि परेको लगातारको वर्षा, बाढी र पहिरोका कारण म्याग्दी तथा बेनी क्षेत्रका सडक र पुलहरू प्रभावित भएपछि कोरला नाकातर्फको आवागमनसमेत अवरुद्ध भएको छ । यससँगै चीनसँग जोडिएका प्रमुख उत्तरी व्यापारिक मार्गहरू एकपछि अर्को प्रभावित भएका छन् ।

करिब ५ सय कन्टेनर अलपत्र

राष्ट्रिय व्यापार संघका प्रथम उपाध्यक्ष तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार दसैँ, तिहार तथा जाडोयामका लागि ल्याइएका सामान बोकेका करिब ५ सय ट्रक–कन्टेनर चीनतर्फ अलपत्र छन् ।

उनका अनुसार भदौ अन्तिम सातासम्म नेपाल भित्र्याएर असोजको पहिलो सातासम्म देशभरका बजारमा पठाइसक्नुपर्ने सामान अझै चीनकै विभिन्न स्थानमा रोकिएका छन् । नाका सञ्चालनमा थप ढिलाइ भएमा चाडपर्वको समयमा बजारमा आपूर्ति प्रभावित हुने व्यवसायीहरूको चिन्ता छ । रसुवागढी नाका तत्कालै पुरानै अवस्थामा फर्किने सम्भावना न्यून रहेकाले तातोपानीलाई तत्काल वैकल्पिक व्यापारिक मार्गका रूपमा सञ्चालन गर्नुपर्ने दबाब बढेको हो ।

चिनियाँ पक्षसँग संवाद

नेपाल सरकारले सडक सुधारसँगै चिनियाँ पक्षसँग कूटनीतिक तथा प्राविधिक समन्वय पनि अघि बढाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भएको छलफलमा तातोपानी नाका तत्काल सञ्चालन गर्न आवश्यक सहजीकरणबारे कुराकानी भएको छ । श्रेष्ठले केरुङ र कोरला नाकामा आएको अवरोधका कारण आपूर्ति शृङ्खलामा परेको दबाब कम गर्न तातोपानी नाका शीघ्र सञ्चालन गर्न चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

राजदूत झाङले बाढीका कारण नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै व्यापारिक मार्ग छिटो सञ्चालनमा ल्याउन दुवै देशका अधिकारीबाट संयुक्त स्थलगत निरीक्षण भइरहेको जानकारी दिएका छन् । सडक तथा पूर्वाधार पुनर्स्थापनाका लागि चीनले द्रुत कार्य टोली परिचालन गरेको उनको भनाइ छ ।

भोटेकोशीको बाढीले रसुवागढी–केरुङतर्फको पुल, भन्सार कार्यालय, सुक्खा बन्दरगाह तथा काठमाडौं जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये करिब ४५ किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको छ । यही कारण केरुङ नाका तत्काल पुरानै अवस्थामा फर्काउन कठिन देखिएको छ ।

यता कोरला नाका उच्च भूभागमा रहेकाले आगामी दिनमा हिमपात तथा मौसमका कारण व्यापार सञ्चालन थप चुनौतीपूर्ण हुन सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताएका छन् । रसुवागढी पनि तत्काल सहज हुने अवस्था नरहेकाले तातोपानी सञ्चालनका लागि सरकारले कूटनीतिक पहललाई अझ तीव्र बनाउनुपर्ने उनको भनाइ छ ।

तीनवटै प्रमुख उत्तरी व्यापारिक मार्ग प्रभावित भएपछि अहिले तातोपानी नाका नेपालका लागि तत्कालीन वैकल्पिक व्यापारिक मार्गका रूपमा महत्वपूर्ण बनेको छ । नेपालतर्फको सडक सञ्चालनयोग्य बनिसकेको अवस्थामा चिनियाँ पक्षबाट सहमति र आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा भए तातोपानीबाट रोकिएका मालसामान नेपाल भित्र्याउने बाटो खुल्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top