जुम्लामा सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक तथा जुम्लाबाट मनाङ–मुस्ताङ जोड्ने सडकअन्तर्गतका ठेक्कामा निर्धारित प्रगतिअनुसार काम नगरेपछि सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७५ देखि २०८० सम्म सम्झौता भएका विभिन्न सडक आयोजनामा निर्माण कम्पनीहरूले तोकिएको समयमा काम सम्पन्न नगरेपछि कारबाहीका लागि सिफारिस गरिएको थियो । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
कालोसूचीमा पर्नेमा विनम्र निर्माण सेवा, सुर्खेत, शंकरमाली निर्माण सेवा, काठमाडौँ र मान शाही निर्माण सेवा, कालीकोट छन् । यी तीन कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, ध्रुव निर्माण सेवा, वीरेन्द्रनगर सुर्खेत र कश्यप निर्माण सेवा, काठमाडौँ दुई वर्ष तथा अविनाश निर्माण सेवा, छायानाथ मुगुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
सडक डिभिजन प्रमुख श्रवणकुमार महताराका अनुसार, सम्बन्धित ठेक्काको काम सम्झौताअनुसार अघि नबढेपछि आवश्यक प्रक्रिया पूरा गरी कालोसूचीका लागि सिफारिस गरिएको हो । डिभिजनले उपलब्ध गराएको विवरणअनुसार विनम्र, ध्रुव र अविनाश निर्माण सेवासम्बन्धी सूचना शनिबार तथा बाँकी तीन कम्पनीसम्बन्धी सूचना बुधबार सार्वजनिक भएको थियो ।
सबइन्जिनियर वीरेन्द्र रावलका अनुसार शंकरमाली निर्माण सेवाले नाग्म–गमगडी सडकको ठेक्कामा सम्झौताअनुसार काम गर्न सकेको थिएन । त्यसैगरी, कश्यप निर्माण सेवाले जुम्लाबाट मनाङ–मुस्ताङ जोड्ने सडकको काम निर्धारित ढाँचामा अघि बढाउन नसकेको जनाइएको छ । अन्य कम्पनीका ठेक्का कर्णाली राजमार्गअन्तर्गत कालीकोट क्षेत्रमा सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित छन् ।

