यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब १० लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको उच्चस्तरीय अध्ययन समितिले तयार पारेको प्रतिवेदनले दशैँमा उपत्यका छाड्ने यात्रुको संख्या साढे ६ लाखदेखि ९ लाख ७५ हजारसम्म पुग्न सक्ने प्रक्षेपण गरेको हो ।
समितिले यात्रुको चाप, बाढी–पहिरोका कारण क्षतिग्रस्त सडक, टिकटमा हुने कालोबजारी तथा सम्भावित दुर्घटना जोखिमलाई अध्ययन गरी प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन बुधबार नै प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई बुझाइएको छ ।
अध्ययनअनुसार, घटस्थापनादेखि नवमीसम्म उपत्यकाबाट बाहिरिने यात्रुको चाप उच्च रहनेछ । त्यसमा पनि फूलपाती आसपासका दिनमा सडक तथा सार्वजनिक यातायातमा सबैभन्दा बढी दबाब पर्ने अनुमान गरिएको छ । सोहीअनुसार यात्रु व्यवस्थापन, सवारी परिचालन र सडक सञ्चालनको तयारी गर्नुपर्ने समितिको निष्कर्ष छ ।
दशैँ अवधिको सम्भावित माग धान्न न्यूनतम ४३ हजार ५७४ देखि अधिकतम ६५ हजार ३६१ सार्वजनिक सवारी यात्रा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । यो संख्या छुट्टाछुट्टै सवारीसाधनको संख्या नभई दशैँ अवधिभर आवश्यक पर्ने सवारी यात्राको अनुमान हो । एउटै सवारीले पटक–पटक यात्रु ओसार्न सक्ने भएकाले यसलाई सवारीसाधनको वास्तविक संख्या भने मान्न मिल्दैन ।
सवारीको प्रकारअनुसार यात्रु ओसारपसारमा ठूला बसको हिस्सा सबैभन्दा धेरै ४८ प्रतिशत रहने अनुमान गरिएको छ । यसका लागि न्यूनतम २० हजार ९१६ देखि अधिकतम ३१ हजार ३७३ वटा सवारी यात्रा आवश्यक पर्नेछ ।
त्यस्तै, माइक्रोबसले कुल यात्रुको ४३ प्रतिशत भार थेग्ने अनुमान छ । माइक्रोबसतर्फ न्यूनतम १८ हजार ७३७ देखि अधिकतम २८ हजार १०५ सवारी यात्रा आवश्यक पर्ने अध्ययनले देखाएको छ । बाँकी ९ प्रतिशत यात्रु मिनी बसबाट ओसारिने अनुमान गरिएको छ । यसका लागि न्यूनतम ३ हजार ९२२ देखि अधिकतम ५ हजार ८८२ सवारी यात्रा आवश्यक पर्नेछ ।
अध्ययनका क्रममा यात्रुलाई टिकटको वास्तविक मूल्यभन्दा बढी रकम तिर्न लगाउने र अनुगमनका क्रममा बढी रकम नलिएको भन्न सिकाउने गरेको समेत पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसैले, टिकटको कालोबजारी नियन्त्रण र यात्रु ठगी रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको समितिले औँल्याएको छ ।
प्रतिवेदनमा उल्लेखित यात्रु संख्या सम्भावित प्रक्षेपण भएकाले हालसम्म उपत्यकाबाट बाहिरिसकेका यात्रुको तथ्यांक भने नभएको बताइएको छ ।

