Banijya News

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्ने

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले एक रुपैयाँ अंकित मूल्यका ४० करोड थान सिक्का छाप्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइनदेखि उत्पादन, आपूर्ति र ढुवानीसम्मको जिम्मेवारी समेटेर बोलपत्र प्रक्रिया अघि बढाएको हो ।

बोलपत्रमा राष्ट्र बैंकबाट यसअघि प्राविधिक तथा अन्य आवश्यक मापदण्ड पूरा गरी योग्य सूचीमा परेका विदेशी सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन् । योग्य कम्पनीहरूको सूचीमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनीको गिसिके एन्ड डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ रहेका छन् ।

राष्ट्र बैंकले बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न २० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । इच्छुक कम्पनीका प्रतिनिधिका लागि अक्टोबर १५ मा दिउँसो १२ बजे पूर्वबोलपत्र बैठक आयोजना हुनेछ । बोलपत्र बुझाउने अन्तिम म्याद नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म तोकिएको छ । प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ ।

प्रतिस्पर्धामा सहभागी हुन कम्पनीहरूले कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलरबराबरको बोलपत्र जमानत पेश गर्नुपर्नेछ । बोलपत्र १२० दिनसम्म मान्य रहनेछ भने जमानतको अवधि बोलपत्रको वैधता सकिएपछि थप ३० दिन कायम रहनुपर्ने व्यवस्था गरिएको छ ।

1

Scroll to Top