नेपाल बीमा प्राधिकरणले गत भदौ १० गतेको भीषण बाढीबाट प्रभावित बीमित तथा उनीहरूका हकवालालाई राहत पुग्ने गरी जीवन बीमाअन्तर्गतका विभिन्न भुक्तानी प्रक्रियामा सरलीकरण गरेको छ । प्राधिकरणले मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानीका लागि आवश्यक प्रमाण, कागजात र प्रक्रियालाई सहज बनाएको हो ।
प्राधिकरणका अनुसार २०८३ भदौ १० गते ल्हेन्दे–खोला–भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितले सरल प्रक्रियाबाट बीमा सेवा लिन सक्नेछन् ।
मृत्यु दाबीका लागि बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर र दावीकर्तासँगको नाता खुलाउनुपर्नेछ । नाता प्रमाणित गर्न आवश्यक कागजातसँगै सरकारी निकायबाट जारी नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक परिचयपत्र पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
बाढीका कारण बीमितको मृत्यु वा बेपत्ता भएको अवस्थामा सम्बन्धित अधिकारप्राप्त निकाय वा अधिकारीबाट जारी बाढी वा विपद्मा परी मृत्यु भएको प्रमाणित विवरण, सिफारिसपत्र वा न्यायिक मृत्यु घोषणा स्वीकार गर्न सकिने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, बाढीका कारण सक्कल बीमालेख नष्ट वा हराएको अवस्थामा बीमा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपिका आधारमा प्रक्रिया अघि बढाउन सकिनेछ । बीमितले बीमालेखको प्रतिलिपि माग गरेमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।
बाढीका कारण कम्पनीमा रहेका पोलिसी डकेट तथा अन्य बीमा कागजात नष्ट भएको अवस्थामा उपलब्ध विवरणका आधारमा अभिलेख अद्यावधिक गर्न बीमित र अभिकर्ताले आवश्यक सहयोग गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
यसैगरी, बाढीका कारण बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने बीमितलाई ६ महिनासम्म ब्याज नलाग्ने मोहलत अवधि दिनुपर्नेछ ।
बेपत्ता बीमितका हकमा पनि विशेष व्यवस्था गरिएको छ । हकवालाले भविष्यमा बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वःघोषणा वा प्रतिबद्धता पत्र दिएपछि मृत्यु दाबी भुक्तानी गर्न सकिनेछ ।
प्राधिकरणले विपद्बाट प्रभावित बीमित र हकवालाको हितलाई ध्यानमा राख्दै सरलीकृत व्यवस्था कार्यान्वयन गर्न सबै जीवन बीमक तथा लघुजीवन बीमकलाई निर्देशन दिएको छ ।

