गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाढीपहिरोले निर्माणाधीन २६६ मेगावाट क्षमताका तीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाट क्षमताका आठ आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ ।
बाढीबाट सबैभन्दा बढी क्षति हाइड्रो सपोर्ट प्रालिले प्रवद्र्धन गरिरहेको ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा पुगेको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्यांक र वर्कसपमा बाढीले क्षति पुर्याएको हो ।
अन्नपूर्ण गाउँपालिका–३ र ४ को सीमाना सुकेबगरमा निर्माण भइरहेको बाँधमा डाइभर्सन भत्काएर कालीगण्डकीको बाढी पसेपछि ठूलो मात्रामा गेग्रान थुप्रिएको छ । सोही स्थानमा रहेको सुरुङको अडिटभित्रसमेत बाढी पसेको आयोजनाले जनाएको छ ।
अन्नपूर्ण–२ को नागढुङ्गा र रातोपानीमा रहेका आवास भवनसमेत बाढीले भत्काएको छ । ती स्थानमा रहेका निर्माण सामग्री पनि बगाएको छ । नौनीबगरस्थित निर्माणाधीन भूमिगत विद्युत्गृह अगाडि रहेको बेनी–जोमसोम–कोरला सडकको मोटरेबल पुलको पोखरेबगरतर्फको पहुँचमार्गसमेत कालीगण्डकीले बगाएको छ । आयोजनाको लेबर क्याम्प पनि बाढीले बगाएको छ ।
आयोजनाका प्रबन्ध निर्देशक गुरु ढकालका अनुसार बाढीले क्याम्प र निर्माणस्थलबीचको यातायात सम्पर्क विच्छेद गरेकाले क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन । सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा आयोजनाको वास्तविक क्षतिको मूल्यांकन गर्न कठिनाइ भएको उनले बताए ।
बाढीपहिरोका कारण आयोजनाको निर्माणसमेत रोकिएको सिभिल ठेकेदार कम्पनी रसुवा–मल्टी जेभीले जनाएको छ । विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको काम हालसम्म निरन्तर अघि बढिरहेको थियो । तर, पछिल्लो प्राकृतिक विपत्तिले निर्माण कार्यमा ठूलो अवरोध सिर्जना गरेको हो ।
मध्यकालीगण्डकी आयोजनाले सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरी ४ हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत पानी नौनीबगरस्थित भूमिगत विद्युत्गृहमा पुर्याउने योजना बनाएको छ । १५१ मिटर उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत्गृह, स्विचयार्ड र कन्ट्रोल रुम भूमिगत संरचनामा निर्माण हुँदैछन् ।
आयोजनाबाट उत्पादित विद्युत् नौनीबगरबाट करिब सात किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना बाढीपहिरोका कारण निर्धारित समयभन्दा पछाडि धकेलिने देखिएको छ ।
कालीगण्डकी नदीमा म्याग्दी जिल्लाभित्र निर्माण हुन लागेको यो पहिलो जलविद्युत् आयोजना हो । कुल १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नबिल बैंकको नेतृत्वमा छ वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवद्र्धक तथा शेयर लगानीकर्ताबाट जुटाइनेछ ।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार आयोजनाको हिउँदयामको विद्युत् खरिददर प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायामको दर ४ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
पछिल्लो बाढीपहिरोबाट अन्नपूर्ण गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार प्रसारण लाइनका टावर तथा तार बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छ जलविद्युत् आयोजना राष्ट्रिय प्रणालीबाट बाहिरिएका छन् ।
अन्नपूर्ण–१ दोवाको भीरकाटे पारिका दुई तथा धिरच्याङ क्षेत्रको एउटा प्रसारण लाइन टावर बाढीले बगाएको छ । दाना–खुर्कोट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा विद्युत् पठाउँदै आएका अन्नपूर्ण–४ नारच्याङका ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरि–१, ७१ मेगावाटको निलगिरि–२ र ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाटको थापाखोला आयोजनाको विद्युत्समेत राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाटको कालीगण्डकी गर्ज र ९ मेगावाटको सुपर घलेम्दीखोला आयोजनाको निर्माण प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कालीगण्डकीको बाढी पसेपछि परीक्षण उत्पादनसमेत रोकिएको छ ।
अन्नपूर्ण–४ पोखरेबगरमा रहेको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि नै बन्द छ । रेलेखोला आयोजनाको बाँध क्षेत्रमा माथिल्लो भागबाट आएको बाढीले ठूलो मात्रामा गेग्रान थुपारेको आयोजनाका प्रमुख दार्शनिक काफ्लेले जानकारी दिए ।
जलविद्युत् आयोजनासँगै बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकमा समेत ठाउँ–ठाउँमा कटान गरेको छ । सडक क्षतिग्रस्त भएपछि आयोजनास्थलसम्म पुग्न तथा मर्मत र पुनःस्थापनाका काम अघि बढाउन थप कठिनाइ भएको छ । प्रसारण लाइन र सडक पूर्वाधारमा भएको क्षतिका कारण म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा राष्ट्रिय प्रणालीमा आपूर्ति तत्कालै नियमित हुने अवस्था चुनौतीपूर्ण बनेको छ ।

