Banijya News

विपद्पछि पुनःनिर्माणका लागि साढे ५ खर्बभन्दा बढी बजेट आवश्यक

1
1.1K Shares

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रभावित क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना तथा विपद्पछिको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ । स्वीकृत योजनाका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम अर्थ मन्त्रालयमार्फत आवश्यक स्रोत व्यवस्थापन गरिनेछ ।

यसैगरी, लागत अनुमान खुल्न बाँकी रहेका तथा प्राथमिकीकरण हुन नसकेका आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

पछिल्लो समय भोटेकोशी, त्रिशूलीलगायत नदी तथा खोलामा आएको बाढी, पहिरो र अन्य मनसुनजन्य विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक तथा निजी संरचना, व्यवसाय र स्थानीय पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःनिर्माण र पुनःस्थापनाको आवश्यकता बढेको सरकारले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भइरहेको भन्दै पुनःनिर्माण र पुनःस्थापनाको काम पनि तीनै तहका सरकारको समन्वयमा अघि बढाइने बताए ।

बैठकमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्पछिको पुनःनिर्माणमा सरकारलाई पूर्ण साथ रहने बताए । बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पनि पुनःनिर्माण तथा पुनःस्थापनाको काममा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

परिषद्का सदस्य–सचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा अत्यावश्यक खोज तथा उद्धारका कामसँगै पुनःनिर्माण र पुनःस्थापनाको कार्यलाई तीव्र रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

सरकारले विपद्बाट क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माणसँगै प्रभावित परिवारको पुनःस्थापना र जीविकोपार्जन पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेर आवश्यक कार्यक्रम अघि बढाउने जनाएको छ ।

1

Scroll to Top