सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक सेयर बजारमा प्रत्यक्ष सहभागी गराउने गरी नयाँ व्यवस्था गरेको छ । सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै एनआरएन तथा गैरआवासीय नेपाली संघसँग सम्बन्धित लगानीकर्तालाई लक्षित गरी सेयर निष्काशन गर्न सक्ने व्यवस्था गरेको हो ।
संशोधित नियमावलीले एनआरएनलाई लक्षित गरी सेयर निष्काशन गर्ने कम्पनी तथा परियोजनाका लागि प्राथमिक बजारबाट पूँजी जुटाउने बाटो खुला गरेको छ । यस्तो व्यवस्थाअन्तर्गत सेयर निष्काशन गर्ने कम्पनीले आफ्नो जारी पूँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सक्नेछन् ।
नयाँ व्यवस्थाले विदेशमा रहेका नेपालीको पूँजीलाई नेपालको घरेलु पूँजी बजारमा भित्र्याउने सम्भावना बढाएको छ । यससँगै एनआरएन लगानीकर्तालाई लक्षित गरेर पूँजी जुटाउन चाहने कम्पनी तथा परियोजनाले प्राथमिक बजारमार्फत लगानी संकलन गर्न सक्ने भएका छन् ।
विशेषगरी विदेशमा रहेका नेपालीलाई लक्षित गरी स्थापना हुने कम्पनी तथा परियोजनाले नेपालको पूँजी बजारबाट स्रोत जुटाउन सक्ने भएपछि प्राथमिक बजारमा नयाँ प्रकारका लगानीकर्ता र पूँजी थपिने अपेक्षा गरिएको छ । यसले एनआरएनको नेपालमा लगानी गर्ने अवसर विस्तार गर्नुका साथै पूँजी बजारमा उनीहरूको प्रत्यक्ष सहभागिता बढाउने आधार तयार गर्नेछ ।
तर, एनआरएनलाई लक्षित गरी निष्काशन गरिने यस्तो सेयरमा प्रिमियम थप गर्न भने पाइने छैन । अर्थात् कम्पनीले अंकित मूल्यभन्दा बढी रकम लिएर सेयर बिक्री गर्न पाउने छैन । यसले यस्तो निष्काशनमा सेयरको मूल्य अंकित मूल्यमै सीमित गर्ने व्यवस्था गरेको छ ।
संशोधित नियमावलीले यस्ता सेयरको दोस्रो बजार कारोबारका लागि समेत छुट्टै व्यवस्था गरेको छ । धितोपत्र बजारले तोकेको प्रणालीअनुसार यस्तो सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । यस्ता सेयरको न्यूनतम कारोबार इकाई भने १ हजार कित्ता तोकिएको छ ।
सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गर्दै नियमावली संशोधन गरेको हो । संशोधित व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तोकेको मितिदेखि कार्यान्वयनमा आउनेछ ।
नयाँ व्यवस्थासँगै एनआरएनलाई नेपालको पूँजी बजारमा संस्थागत रूपमा जोड्ने तथा विदेशमा रहेको नेपाली पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने प्रयासले औपचारिक आधार पाएको छ । अब सेबोनले कार्यान्वयनको मिति तथा आवश्यक प्रक्रिया तय गरेपछि एनआरएन लक्षित सेयर निष्काशनको बाटो खुल्नेछ ।

