विश्व बैंकले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी तथा त्यसबाट भएको व्यापक पूर्वाधार क्षतिका कारण चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बाढीका कारण पूर्वाधार, उत्पादन र आपूर्ति प्रणालीमा परेको असरले आर्थिक गतिविधिमा तत्काल दबाब सिर्जना गर्ने बैंकको आकलन छ ।
मंगलबार सार्वजनिक ‘नेपाल विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन–२०२६ : भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’ मा आगामी आर्थिक वर्ष २०८४/८५ मा भने आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढ्दै जाँदा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको हो ।
प्रतिवेदनअनुसार बाढीको सबैभन्दा ठूलो प्रभाव उद्योग क्षेत्रमा पर्नेछ । जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले ऊर्जा उत्पादन, औद्योगिक गतिविधि र वस्तु तथा सेवाको आवागमनमा अवरोध सिर्जना गर्नेछ । यसबाट उत्पादन र आपूर्ति शृंखलामा समेत असर पर्ने विश्व बैंकको अनुमान छ ।
त्यस्तै, व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा आएको अवरोधले सेवा क्षेत्रको वृद्धिमा पनि दबाब पर्नेछ । कृषि क्षेत्रमा बाढीको समग्र प्रभाव तुलनात्मक रूपमा सीमित रहने अनुमान गरिए पनि प्रभावित क्षेत्रका नागरिकको रोजगारी, आम्दानी तथा जीविकोपार्जनमा उल्लेखनीय असर पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकले विपद्पछि पुनर्निर्माण गर्दा क्षतिग्रस्त संरचनालाई पुरानै स्वरूपमा निर्माण गर्नेभन्दा भविष्यमा हुने जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन सुझाव दिएको छ । त्यसका लागि बहुविपद् जोखिम मूल्यांकन, सुरक्षित स्थान तथा जोखिमअनुकूल डिजाइन छनोट र महत्वपूर्ण पूर्वाधार सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुका साथै संकटमा परेका घरपरिवारलाई तत्काल राहत तथा सहायता उपलब्ध गराउने एकीकृत सामाजिक संरक्षण प्रणाली विकास गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले पुनर्निर्माणलाई केवल क्षतिग्रस्त संरचना बनाउने कामका रूपमा नभई पूर्वाधार तथा आधारभूत सेवाको संरचनाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनले सडक, सञ्चार, ऊर्जा, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रका पूर्वाधारलाई बदलिँदो विपद् जोखिमअनुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२६ मा ६.९ प्रतिशत र सन् २०२७ मा ६.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । क्षेत्रीय प्रतिवेदनले कृत्रिम बौद्धिकताको प्रयोगमार्फत उत्पादकत्व वृद्धि, निर्यात विस्तार र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने अवसर रहेको समेत औंल्याएको छ ।


