सामसुङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए०८ एलटीई नेपाली बजारमा सार्वजनिक गरेको छ । एआई सुविधा, ठूलो क्षमताको ब्याट्री र लामो समयसम्म सफ्टवेयर अपडेट उपलब्ध हुने विशेषतासहित सार्वजनिक गरिएको फोनको सुरुवाती मूल्य ३४ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी ए०८ एलटीईमा ६.७ इन्चको डिस्प्ले रहेको छ । फोनको बडी ८ मिलिमिटर मात्र पातलो रहेको कम्पनीले जनाएको छ । फोन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रंगमा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार फोनमा ‘असम इन्टेलिजेन्स’ अन्तर्गत विभिन्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा उपलब्ध छन् । यसले प्रयोगकर्तालाई दैनिक प्रयोगमा विभिन्न स्मार्ट फिचरमार्फत सहयोग गर्ने कम्पनीको दाबी छ ।
फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । त्यस्तै, आईपी६४ रेटिङ दिइएकाले फोन धुलो तथा पानीका छिटाबाट सुरक्षित रहने बताइएको छ । सामसुङले फोनका लागि ६ पुस्तासम्म अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने जनाएको छ ।
नेपाली बजारमा ग्यालेक्सी ए०८ एलटीई तीन भेरियन्टमा उपलब्ध हुनेछ । ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको आधारभूत मोडलको मूल्य ३४ हजार ४९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, ४ जीबी र्याम र १२८ जीबी स्टोरेज मोडलको मूल्य ४० हजार ९९९ रुपैयाँ तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज मोडलको मूल्य ४७ हजार ४९९ रुपैयाँ रहेको छ ।
सामसुङले फोन खरिदका लागि १२ महिनाको किस्ताबन्दी सुविधा समेत ल्याएको छ । यसअन्तर्गत आधारभूत मोडल मासिक १ हजार ७२५ रुपैयाँदेखि किस्तामा खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार किस्ताबन्दीमा फोन खरिद गर्न नागरिकताको प्रमाणपत्र मात्र आवश्यक पर्नेछ ।


