Banijya News

काठमाडौंमा अब जुनसुकै ब्रान्डको सिलिन्डरबाट ग्यास पाइने

1
1.0K Shares

काठमाडौं उपत्यकामा चाडपर्वका समयमा एलपी ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै ब्रान्डको सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न लागिएको छ । बजारमा ग्यास पर्याप्त हुँदाहुँदै पनि आफूले प्रयोग गर्ने ब्रान्डको सिलिन्डर नपाउँदा उपभोक्ता समस्यामा नपरून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।

नयाँ व्यवस्थाअनुसार उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको ब्रान्डभन्दा फरक कम्पनीको खाली सिलिन्डर बुझाएर पनि पायक पर्ने स्थानबाट ग्यास लिन सक्नेछन् । यसका लागि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायबीचको समन्वयमा यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी भएको हो । विशेषगरी एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई चाडपर्वका समयमा ग्यासको अभाव नहोस् भन्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको सम्बन्धित पक्षले जनाएको छ ।

यसअघि फरक कम्पनीको सिलिन्डर साटेर ग्यास लिँदा कतिपय डिलरले उपभोक्ताबाट अतिरिक्त रकम लिने गरेको गुनासो आउने गरेको थियो । एउटै ब्रान्डको सिलिन्डर उपलब्ध नभएको अवस्थामा उपभोक्ताले अर्को ब्रान्डको सिलिन्डर बुझाउँदा थप रकम तिर्नुपर्ने अवस्था थियो । अब भने ब्रान्ड फरक परेको आधारमा उपभोक्ताबाट अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिनेछ ।

ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकाका विभिन्न १५ देखि २० प्रमुख स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी गरेका छन् । ती काउन्टरबाट उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर तत्काल ग्यास लिन सक्ने व्यवस्था मिलाइनेछ ।

संयुक्त बिक्री काउन्टर सञ्चालन भएपछि उपभोक्ताले आफूले प्रयोग गर्ने ब्रान्डको सिलिन्डर खोज्दै विभिन्न डिलर धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । साथै, ब्रान्ड नमिलेका कारण हुने अनावश्यक झन्झट र अतिरिक्त खर्चसमेत कम हुने विश्वास गरिएको छ ।

चाडपर्वका समयमा एलपी ग्यासको माग सामान्य दिनको तुलनामा बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो पहल गरिएको हो। विशेषगरी दसैँ, तिहारलगायतका ठूला चाडपर्वका समयमा घरायसी उपभोग बढ्दा ग्यासको माग पनि बढ्ने गर्छ ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार एउटा कम्पनीको खाली सिलिन्डर अर्को कम्पनीले अस्थायी रूपमा स्वीकार गर्ने र पछि उद्योगहरूले आपसी समन्वयमा सिलिन्डर व्यवस्थापन गर्नेछन्। यो सुविधा नियमित व्यावसायिक कारोबारका लागि नभई ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई चाडपर्वमा तत्काल राहत दिन केन्द्रित हुनेछ।

सिलिन्डरको दुरुपयोग रोक्न सेवा लिन आउने व्यक्तिको पहिचानसम्बन्धी विवरण र मोबाइल नम्बर राख्ने तयारीसमेत गरिएको छ। यसबाट वास्तविक उपभोक्ताले मात्र सुविधा पाउने र व्यवसायी वा डिलरले यसको दुरुपयोग गर्न नसक्ने उद्योगीहरूको भनाइ छ।

निगमले भने संयुक्त बिक्री केन्द्रसँगै सम्भव भएसम्म स्थानीय विक्रेताकै तहबाट यस्तो साटासाटको सुविधा उपलब्ध गराउनुपर्ने पक्षमा जोड दिएको छ। त्यसो भए उपभोक्ताले टाढा जानुपर्ने अवस्था नआउने निगमको बुझाइ छ। सेवा सञ्चालन हुने स्थान र प्रक्रिया टुङ्गो लागेपछि एक–दुई दिनभित्र औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी छ।

सम्बन्धित निकायले चाडपर्वका समयमा बजारमा ग्यासको नियमित आपूर्ति कायम राख्नुका साथै वितरण प्रणालीलाई सहज बनाउन उद्योगी तथा विक्रेतासँग समन्वय गरिरहेको जनाएको छ । नयाँ व्यवस्थाले विशेषगरी काठमाडौं उपत्यकाका उपभोक्तालाई तत्काल ग्यास प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top