Banijya News

चाडपर्वमा हवाई भाडा महँगो बनाउन नपाइने, सस्तो टिकट बेच्न एयरलाइन्स सहमत

1
1.0K Shares

नजिकिँदो चाडपर्वको समयमा यात्रुको चाप बढेको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको हो ।

छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा समेत टिकट बिक्री गर्न सकिने व्यवस्था प्रभावकारी बनाउने सहमति भएको छ । वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यका टिकट उपलब्ध भएमा त्यसको जानकारी आफ्ना बिक्री वितरण प्लेटफर्ममा सार्वजनिक गर्नुपर्ने सहमति भएको क्यानले जनाएको छ ।

यसअनुसार यात्रुले एयरलाइन्सका वेबसाइट तथा अन्य बिक्री प्लेटफर्ममार्फत उपलब्ध सस्तो टिकटबारे सहज रूपमा जानकारी पाउने र खरिद गर्न सक्नेछन् । यात्रुको माग र चाप बढेको समयमा स्वीकृत सीमाभन्दा बढी मूल्यमा टिकट बिक्री नहोस् भन्ने उद्देश्यले नियामक निकायले यस्तो व्यवस्था प्रभावकारी बनाउन खोजेको हो ।

चाडपर्व नजिकिँदै गर्दा दसैँ तथा अन्य पर्वका लागि घर फर्किने यात्रुको संख्या बढ्ने गर्छ । यही समयमा हवाई टिकटको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै यात्रुबाट गुनासो आउने गरेको छ । विशेषगरी सीमित उडान र उच्च मागका कारण हवाई भाडा महँगो हुने गरेको यात्रुको गुनासो छ ।

आन्तरिक हवाई सेवाको भाडादरसम्बन्धी व्यवस्था भने २०७३ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट निर्धारण गरिएको थियो । उक्त निर्णयले आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकेको छ ।

क्यानले पछिल्लो छलफलमार्फत तोकिएको अधिकतम सीमाभित्र रहेर वायुसेवा कम्पनीहरूले टिकट बिक्री गर्नुपर्ने र यात्रुलाई उपलब्ध भाडादरबारे पारदर्शी सूचना दिनुपर्ने विषयमा जोड दिएको छ । चाडपर्वको समयमा हवाई यात्रुलाई सहज र सुलभ सेवा उपलब्ध गराउन नियामक र वायुसेवा कम्पनीबीच समन्वय बढाउने सहमति पनि भएको छ ।

1

Scroll to Top