भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगको बजार खुम्चिँदै गएपछि उद्योगी तथा सरोकारवालाले उद्योग संरक्षणका लागि तत्काल नीतिगत पहल गर्न सरकारसँग माग गरेका छन् । भारतको शुल्क नीतिका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले बताएका छन् ।
साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (साउटी) को आयोजना, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको सहजीकरणमा शुक्रबार आयोजित जुट उद्योगका समस्या, अवसर र चुनौतीसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले यस्तो माग गरेका हुन् ।
नेपालको औद्योगिकीकरणको सुरुवाती चरणदेखि नै महत्वपूर्ण योगदान दिँदै आएको जुट उद्योग पछिल्लो समय विभिन्न चुनौतीसँग जुधिरहेको छ । कोशी प्रदेशका जुट उद्योगमा हजारौं श्रमिकले रोजगारी पाउनुका साथै यस क्षेत्रले नेपालको निर्यात व्यापारमा समेत योगदान दिँदै आएको छ । तर, भारतको एन्टी–डम्पिङ शुल्कले उद्योगको बजार र प्रतिस्पर्धात्मक क्षमतामा गम्भीर असर पारेको उद्योगीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले जुट उद्योगको संरक्षणका लागि सम्बन्धित सरकारी निकायले तत्काल ध्यान दिनुपर्ने बताए । उद्योग संकटमा पर्दा त्यसमा आश्रित श्रमिकको रोजगारीसमेत प्रभावित हुने भएकाले समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा जुट उद्योगसँग सम्बन्धित कार्यपत्र साउटीका अनुसन्धानकर्ता रुपेश थाहाले प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै जुट संघका अध्यक्ष राजकुमार गोल्छाले विद्यमान समस्या समयमै समाधान गर्न नसकिए नेपालमा सञ्चालनमा रहेका अधिकांश जुट उद्योग बन्द हुने अवस्थामा पुग्न सक्ने चिन्ता व्यक्त गरे ।
उनका अनुसार उद्योगहरूले उत्पादन विविधीकरण र आधुनिक मेसिनरीमा लगानी गरिसकेका छन् । यस्तो अवस्थामा उद्योगको उत्पादन क्षमता उपयोग गर्दै बजार पुनःस्थापना गर्नु र उद्योगलाई संकटबाट जोगाउनु प्रमुख आवश्यकता रहेको उनले बताए ।
जुट विज्ञ डा. मोहनचन्द्र घिमिरेले जुट उद्योग श्रममा आधारित क्षेत्र भएकाले यसमा ठूलो संख्यामा श्रमिक आश्रित रहेको बताए । त्यसैले, जुट उद्योगको समस्यालाई सामान्य औद्योगिक समस्याका रूपमा मात्र नहेरी सरकारले विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनको धारणा थियो ।
जुट उद्योगी चम्पालाल राठीले भारत र बंगलादेशमा जुट उद्योगलाई सरकारी संरक्षण र प्रोत्साहन उपलब्ध हुँदै आएको उल्लेख गर्दै नेपालमा पनि प्रतिस्पर्धात्मक क्षमता कायम राख्न आवश्यक नीतिगत सहयोग गर्नुपर्ने बताए । खाद्यान्नलगायत विभिन्न वस्तुको प्याकेजिङमा जुट सामग्रीको प्रयोग बढाउने नीति विगतमा अघि सारिए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताए। विदेशमै प्याकेजिङ गरिएका वस्तु नेपाल भित्रिने क्रमले स्वदेशी जुट उद्योगलाई थप चुनौती दिएको उनको भनाइ थियो ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल शाहले जुट उद्योग नेपालको औद्योगिक इतिहाससँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षण आवश्यक रहेको बताए ।
कार्यक्रममा साउटीका उपाध्यक्ष रविशंकर सैंजुले उद्देश्यबारे प्रकाश पारेका थिए भने उपाध्यक्ष रविचन्द्र सैंजुले सहभागीका जिज्ञासा सम्बोधन गरेका थिए । कार्यक्रममा कोशी प्रदेशमा सञ्चालित जुट उद्योगसहित विभिन्न क्षेत्रका करिब ३० जना उद्योगी तथा व्यवसायी सहभागी थिए । सहभागीहरूले उद्योगको दीर्घकालीन संरक्षण, बजार विस्तार र रोजगारी जोगाउन सरकारबाट ठोस नीतिगत कदम आवश्यक रहेकोमा जोड दिएका थिए ।


