ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसँगै जिल्लाको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। यही असोज २४ गते शंखमुलस्थित यल दरबार भेन्यूमा हुने निर्वाचनका लागि उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय भएका छन्। संघको नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार सुसन महर्जन र महासचिव पदका उम्मेदवार राजु महर्जनले संयुक्त प्यानल बनाएर चुनावी अभियानलाई तीव्रता दिएका छन्।
‘व्यवसायीको सम्मान, उद्योग–व्यवसायको उत्थान–हाम्रो अभियान’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको यस प्यानलले ललितपुरको औद्योगिक तथा व्यावसायिक वातावरणलाई थप व्यवस्थित, आधुनिक र प्रविधिमैत्री बनाउने एजेण्डा अघि सारेको छ। लामो समयदेखि उद्योग, व्यापार तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका दुवै उम्मेदवारले संघको नेतृत्व र व्यवस्थापनमा काम गरेको अनुभवलाई आफ्नो मुख्य आधार बनाएका छन्।
को हुन् सुसन र राजु महर्जन ?
अध्यक्ष पदका उम्मेदवार सुसन महर्जन ललितपुरको उद्योग, निर्माण तथा व्यापार क्षेत्रमा परिचित उद्यमी हुन्। पाटन बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गरेका महर्जन महालक्ष्मी ह्युम पाइप उद्योग, महालक्ष्मी एग्रोगेट इन्डष्ट्रिज, महालक्ष्मी मोटर्स, सुशान कन्स्ट्रक्सन, प्रिकास्ट कंक्रिट सोलुसन नेपाल र हिमालयन क्राफ्टजस्ता व्यावसायिक प्रतिष्ठान सञ्चालनमा संलग्न छन्।
महर्जनले सन् २०१७ देखि ललितपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका रूपमा काम गर्दै आएका हुन्। त्यसपछि उपाध्यक्ष (उद्योग) हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी नेपाल ह्युम पाइप एसोसिएसनका पूर्वउपाध्यक्षसमेत हुन्। विभिन्न स्थानीय सामाजिक संघसंस्थामा पनि उनको सक्रियता रहँदै आएको छ।
त्यस्तै, महासचिव पदका उम्मेदवार राजु महर्जन ललितपुरको हस्पिटालिटी तथा पार्टी प्यालेस व्यवसायमा संलग्न छन्। ललितपुर–१९, अग्निलालका स्थानीय बासिन्दा उनी अग्नि पार्टी प्यालेसका सञ्चालक हुन्। उनले सन् २०२१ देखि २०२३ सम्म संघको कार्यसमिति सदस्य र सन् २०२३ देखि २०२६ सम्म कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन्।
महर्जन नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश संयोजक हुन्। साथै, उनले ललितपुर रेन्टल, क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन्।

संस्थागत सुशासनदेखि डिजिटल रूपान्तरणसम्मका एजेण्डा
अध्यक्षका उम्मेदवार सुसन महर्जनले संघलाई आधुनिक, प्रविधियुक्त र सबै व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार संस्थागत सुशासन, डिजिटल रूपान्तरण, नीतिगत पैरवी, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, लगानी विस्तार तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखिनेछ।
ललितपुरका साना, मझौला तथा ठूला उद्योगी–व्यवसायीका समस्या समाधान गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। व्यवसायीले भोग्दै आएका करसम्बन्धी समस्या तथा कानुनी जटिलता समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य र नीतिगत पैरवी गर्ने योजना पनि प्यानलले अघि सारेको छ।
त्यसैगरी, ललितपुरको ऐतिहासिक पहिचानसँग जोडिएको सिर्जनात्मक अर्थतन्त्र, पर्यटन पूर्वाधार, कृषि उद्योग, कृषि उद्यम तथा व्यापार प्रवर्द्धनमा जोड दिइने बताइएको छ।
महासचिवका उम्मेदवार राजु महर्जनले पनि संघलाई प्रविधिमैत्री बनाउँदै व्यवसायीका समस्या समाधानमा सक्रिय भूमिका खेल्ने बताएका छन्। वर्तमान कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनले महासचिवका रूपमा संघ र सम्पूर्ण व्यवसायीको हितमा काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए।
उनले संस्थागत सुशासन, डिजिटल सेवा विस्तार, व्यवसायीलाई आवश्यक सहजीकरण र नीतिगत पैरवीलाई आफ्नो प्राथमिकता रहेको उल्लेख गरे। साथै, ललितपुरको पर्यटन, कृषि तथा व्यापार क्षेत्रको विकासका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाए।
महर्जनले आफ्नो प्यानललाई विजयी गराउन ललितपुरका उद्योगी–व्यवसायीसँग मत मागेका छन्। अनुभवी तथा समावेशी टोलीसहित अघि बढेको दाबी गर्दै उनले संघलाई व्यवसायीका समस्या समाधान गर्ने प्रभावकारी साझा संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।


