Banijya News

बैंकिङ सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था सर्वोच्चद्वारा बदर

1
1.0K Shares

सर्वोच्च अदालतले बैंक खाता सञ्चालन, ग्राहक पहिचान (केवाईसी) अद्यावधिक तथा मोबाइल नम्बर परिवर्तनजस्ता बैंकिङ सेवा लिन राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य गर्ने व्यवस्था बदर गरेको छ । अदालतको यो निर्णयसँगै राष्ट्रिय परिचयपत्र प्राप्त नभएका नागरिकले नागरिकता प्रमाणपत्रलगायत अन्य पहिचानका कागजातका आधारमा बैंकिङ सेवा लिन पाउने भएका छन् ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनमा रहेको राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाध्यकारी व्यवस्थालाई उत्प्रेषणको आदेशमार्फत खारेज गरेको हो ।

अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्रलगायत अन्य पहिचानका कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न विपक्षीका नाममा परमादेशसमेत जारी गरेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत बैंकिङ सेवा उपभोग गर्दा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरलाई नागरिक पहिचानको अनिवार्य आधार बनाएको थियो । उक्त व्यवस्थाका कारण राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नसकेका नागरिकलाई बैंक खाता सञ्चालन तथा अन्य वित्तीय सेवा लिन कठिनाइ भएको भन्दै प्रश्न उठ्दै आएको थियो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएकी अधिवक्ता सरिता अधिकारीले उक्त व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई विपक्षी बनाएकी थिइन् ।
रिटमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा देशभरका लाखौँ सर्वसाधारण, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा प्रविधिको पहुँच नभएका नागरिक आफ्नै बैंक खाता सञ्चालन गर्न र वित्तीय सेवा उपभोग गर्नबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको थियो ।

अदालतको आदेशले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नसकेका नागरिकलाई वैकल्पिक पहिचानका कागजात प्रयोग गरी बैंकिङ सेवा प्राप्त गर्ने बाटो खुला गरेको छ । यसबाट वित्तीय सेवामा नागरिकको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि, सर्वोच्चको सो आदेशको अर्थ बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचानसम्बन्धी विद्यमान कानुनी दायित्व पालना गर्नुनपर्ने भन्ने होइन । सम्पत्ति शुद्धीकरण निवारण, वित्तीय अपराध नियन्त्रण तथा ग्राहकको विवरण प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया भने यथावत् रहनेछन् ।

बैंकिङ सेवामा पहुँच र ग्राहक पहिचानसम्बन्धी कानुनी व्यवस्थाबीच सन्तुलन कायम गर्ने दृष्टिले सर्वोच्च अदालतको यो आदेश महत्त्वपूर्ण छ । राष्ट्रिय परिचयपत्र प्राप्तिमा देखिने प्रशासनिक ढिलाइका कारण नागरिकले आधारभूत वित्तीय सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्ने सन्दर्भमा आदेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

1

Scroll to Top