Banijya News

अब मोबाइल एपबाटै चाँदी खरिद र बिक्री गर्न सकिने

1
1.0K Shares

भौतिक चाँदीमा लगानी गर्ने सुविधा प्रदान गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले मोबाइल एपमार्फत चाँदी खरिद, बिक्री तथा लगानी व्यवस्थापन गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । कम्पनीले ‘एचबीसी सिल्भर’ नामक मोबाइल एप सार्वजनिक गर्दै चाँदीमा लगानी गर्ने प्रक्रियालाई थप सहज बनाएको हो ।

नयाँ एपमार्फत प्रयोगकर्ताले मोबाइलबाटै चाँदी खरिद गर्न, आफ्नो लगानीको विवरण हेर्न तथा आफूसँग रहेको चाँदीको हालको बजार मूल्यबारे जानकारी लिन सक्नेछन् । यस सुविधाले भौतिक चाँदीमा लगानी गर्न चाहने व्यक्तिलाई खरिददेखि लगानीको विवरण व्यवस्थापनसम्म सहज पहुँच प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।

कम्पनीका अनुसार एपमा खाता खोल्ने प्रक्रिया सरल बनाइएको छ । यद्यपि, पहिलोपटक चाँदी खरिद गर्दा नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित व्यवस्थाअनुसार स्थायी लेखा नम्बर (प्यान) र फोटोसहितको ग्राहक पहिचान विवरण प्रमाणित गर्नुपर्नेछ ।

प्रयोगकर्ताले एपमा उपलब्ध खरिद विकल्पमार्फत तत्कालको बजार मूल्यमा चाँदी खरिद गर्न सक्नेछन् । खरिद गरिएको चाँदीको भुक्तानी कनेक्टआईपीएस वा एचबीसीको विद्युतीय खातामार्फत गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

खरिद गरिएको चाँदीको पूर्ण भुक्तानी नभएसम्म बिमा गरिएको सुरक्षित भण्डारण कक्षमा राखिने कम्पनीको भनाइ छ । प्रयोगकर्ताले आवश्यक परेको समयमा पूर्वनिर्धारित समय मिलाएर आफूले खरिद गरेको चाँदी बुझिलिन सक्नेछन् । यसले चाँदी खरिद गरेपछि त्यसको सुरक्षित भण्डारणको व्यवस्थापन गर्नुपर्ने झन्झटसमेत कम गर्ने अपेक्षा गरिएको छ ।

एपमार्फत प्रयोगकर्ताले आफूसँग रहेको चाँदीको परिमाण र त्यसको हालको बजार मूल्यसहितको विवरण हेर्न सक्नेछन् । यसबाट लगानीको अवस्थाबारे जानकारी लिन तथा आफ्नो सम्पत्तिको मूल्यांकन गर्न सहज हुनेछ ।

‘एचबीसी सिल्भर’ एप एन्ड्रोइड र एप्पलको आईफोन दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एप प्रयोग तथा खाता खोल्नेसम्बन्धी थप जानकारीका लागि कम्पनीको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

1

Scroll to Top