हिम पर्वत हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) कात्तिक ११ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गरिनेछ ।
त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरका १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । यसमध्ये १० लाख १४ हजार कित्ता सेयर दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिकाका वडा नं. २, ३ र ४ का स्थानीयका लागि निष्कासन हुनेछ । बाँकी ६ लाख ७६ हजार कित्ता सेयर ती दुई गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दालाई बिक्री गरिनेछ ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरका ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन हुने भएको छ ।
यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने अवधि छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म तोकिएको छ ।
स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।


