धितोपत्र दोस्रो बजारमा सूचीकृत ६ कम्पनीका संस्थापक तथा म्युचुअल फन्डतर्फका कुल २ करोड ७२ लाखभन्दा बढी सेयरको लकिङ अवधि आगामी एक महिनाभित्र समाप्त हुँदैछ ।
असोज २४ गतेदेखि कात्तिक १४ गतेसम्म विभिन्न कम्पनीका २ करोड ७२ लाख ९१ हजार २५० कित्ता सेयरको लकिङ अवधि समाप्त हुन लागेको हो । प्राप्त विवरणअनुसार सबैभन्दा धेरै सेयर सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर लकिङमुक्त भएको छ । उक्त कम्पनीको १ करोड ८४ लाख ६९ हजार ५०० कित्ता संस्थापक सेयरको लकिङ अवधि असोज २४ गते समाप्त भएको छ ।
त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका ५४ लाख ९० हजार ५०० कित्ता संस्थापक सेयरको लकिङ अवधि कात्तिक २ गते सकिनेछ । चिरख्वा हाइड्रोपावर लिमिटेडका ३० लाख २० हजार ५०० कित्ता संस्थापक सेयर कात्तिक १४ गतेदेखि लकिङमुक्त हुने भएको छ ।
यसैगरी, सोपान फर्मास्युटिकल्स लिमिटेडका २ लाख १४ हजार ५०० कित्ता म्युचुअल फन्डतर्फका सेयरको कात्तिक १२ गतेदेखि लकिङ अवधि सकिँदैछ ।
कालिञ्चोक हाइड्रोपावर लिमिटेडका ४९ हजार २५० कित्ता म्युचुअल फन्डका सेयरको लकिङ अवधि कात्तिक ६ गते तथा अप्पोलो हाइड्रोपावर लिमिटेडका ४७ हजार कित्ता म्युचुअल फन्डका सेयरको लकिङ अवधि कात्तिक ११ गते समाप्त हुनेछ ।
यसरी लकिङ अवधि समाप्त हुने सेयरमध्ये अधिकांश संस्थापक सेयर छन् भने केही म्युचुअल फन्डतर्फका सेयर रहेका छन् ।


