नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणले स्वीकृत प्याकेजअनुसार सेवा उपलब्ध नगराएको, तोकिएकोभन्दा बढी शुल्क लिएको र अनुमतिबिना फरक प्याकेज बिक्री गरेको लगायतका कसुरमा ती कम्पनीलाई कारबाही गरेको हो ।
प्राधिकरणले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार निरीक्षण तथा जाँचबुझबाट सेवा प्रदायकहरूले अनुमतिपत्रका सर्त उल्लंघन गरेको पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार स्वीकृत इन्टरनेट प्याकेजअनुसार सेवा नदिने, निर्धारितभन्दा बढी शुल्क असुल्ने, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गर्ने तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिने गतिविधिमा संलग्न प्रदायकलाई कारबाही गरिएको हो ।
स्वीकृत गति र प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराउनु तथा स्वीकृत दरभन्दा बढी शुल्क लिनु उपभोक्ताको हितविपरीत भएको प्रवक्ता अर्यालले बताए । यस्ता गतिविधि नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्न कारबाही गरिएको उनको भनाइ छ ।
जरिवानामा पर्ने कम्पनीहरूमा ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम, फाइबरवर्ल्ड कम्युनिकेसन, भायानेट कम्युनिकेसन्स, एरोनेट, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सिजी कम्युनिकेसन, वर्ल्डलिंक कम्युनिकेसन्स, फर्स्ट लिंक कम्युनिकेसन, पोखरा इन्टरनेट, टेकमाइन्ड्स नेटवर्क र सुबिसु रहेका छन् ।
प्राधिकरणका अनुसार शुल्क निर्धारणसम्बन्धी निर्देशिकाबमोजिम सेवा प्रदायकले प्रस्तावित शुल्क र लागू हुने मिति उल्लेख गरी कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्छ । तर, केही प्रदायकले यस व्यवस्थाको पालना नगरेको पाइएको छ ।
प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गर्न र त्यसबारे जानकारी गराउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । त्यस्ता गतिविधिबाट ग्राहकलाई हानिनोक्सानी भएको भए सेवाग्राहीको मागका आधारमा क्षतिपूर्ति वा बिगो भराउनसमेत निर्देशन दिइएको छ ।
त्यसैगरी, अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई कुनै पनि नयाँ प्याकेज वा महसुल दर लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन प्राधिकरणले सचेत गराएको छ ।स्वीकृतिबिना कुनै पनि प्याकेज सञ्चालन नगर्न र प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका सर्त पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिइएको छ ।
यसअघि असोज २४ गते प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको थियो । प्राधिकरणले शुल्क वृद्धि गर्न कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको जनाएको थियो ।
प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क लिइएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितमा असर परेको भए उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।


