अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार दिउँसो थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।
विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । बैठकमा नेपालको आर्थिक अवस्था, विकासका प्राथमिकता तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक गएका छन् ।
विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकलाई विश्व अर्थतन्त्र, वित्तीय स्थायित्व र विकासका मुद्दामा छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ । अर्थमन्त्री वाग्ले कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।


