Banijya News

नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रहने आईएमएफको प्रक्षेपण

1
1.0K Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म ४ प्रतिशतभन्दा तल सीमित रहने प्रक्षेपण गरेको छ । आईएमएफको पछिल्लो ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनअनुसार सन् २०२६ र २०२७ मा नेपालको अर्थतन्त्रको विस्तार अपेक्षाकृत सुस्त रहने देखिएको हो ।

प्रतिवेदनअनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ । त्यस्तै, सन् २०२७ मा वृद्धिदरमा सामान्य सुधार भई ३.७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यसअनुसार एक वर्षको अवधिमा आर्थिक वृद्धिदर ०.१ प्रतिशत बिन्दुले मात्रै बढ्ने देखिन्छ ।

आर्थिक वृद्धिदर सुस्त रहने प्रक्षेपणसँगै आईएमएफले नेपालको उपभोक्ता मुद्रास्फीतिमा भने सन् २०२७ मा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ मा ४.१ प्रतिशत रहेको मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्नेछ । तर, सन् २०२७ मा मुद्रास्फीति बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसले सन् २०२६ मा मूल्यवृद्धिको दबाब केही कम भए पनि त्यसपछिको वर्षमा पुनः महँगी बढ्न सक्ने संकेत गरेको छ ।

यसैगरी, प्रतिवेदनले बाह्य क्षेत्रतर्फ नेपालको चालू खाता सन्तुलन निकै बलियो रहने देखाएको छ । जीडीपीको अनुपातमा सन् २०२५ मा ६.६ प्रतिशत बचतमा रहेको नेपालको चालू खाता सन् २०२६ मा दोब्बरभन्दा बढीले वृद्धि भई १३.९ प्रतिशत पुग्ने प्रक्षेपण छ । तर, सन् २०२७ मा भने चालू खाता बचत खुम्चिएर जीडीपीको २.० प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

त्यसो त, समग्र एसियाली क्षेत्रको औसत आर्थिक वृद्धिदर सन् २०२६ मा ४.८ प्रतिशत र विकासशील एसियाको ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको अवस्थामा नेपालको वृद्धिदर (३.६ प्रतिशत) भने क्षेत्रीय औसतभन्दा केही कमजोर रहने आईएमएफको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

आईएमएफको प्रक्षेपणले नेपालको अर्थतन्त्रमा तत्कालै उच्च आर्थिक वृद्धिको गति हासिल हुने सम्भावना कमजोर रहेको देखाउँछ । साथै, आर्थिक वृद्धिमा सामान्य सुधार हुँदा पनि मुद्रास्फीतिमा हुने सम्भावित वृद्धिले आगामी वर्षमा मूल्य स्थिरता कायम राख्ने चुनौती थपिन सक्ने देखिएको छ ।

1

Scroll to Top